प्रोजेक्ट लाइफका हिल रनरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा चम्किए

IMG-20260201-WA0080

सोनादा: दार्जिलिङ र सिक्किमका पहाडी क्षेत्रमा स्वस्थ्य र सक्रिय जीवनशैली प्रवर्द्धन गर्दै आएको सामुदायिक दौड समूह प्रोजेक्ट लाइफका तीन सदस्यहरूले आइतबार आयोजित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताहरूमा प्रशंसनीय प्रदर्शन गर्दै समूहलाई गौरवान्वित बनाएका छन्।
दार्जिलिङको सुखिया पोखरी निवासी सुदीप प्रधानले कोलकाताको लेक टाउनमा सम्पन्न श्रीभूमि गोल्ड म्याराथनको २१.१ किमी हाफ म्याराथनमा दोस्रो स्थान हासिल गरे। त्यसै गरी सिक्किमको रंगपोस्थित एसएमआईटीका बिकास तामाङले बोधगया (बिहार)मा आयोजित बोधगया म्याराथनको २१.१ किमी हाफ म्याराथनमा दोस्रो स्थान प्राप्त गरे। यसरी नै दार्जिलिङको ह्याप्पी भ्याली निवासी मामिर गोम्देनले दुबईमा सम्पन्न प्रतिष्ठित दुबई म्याराथनमा ४२.२ किमी पूर्ण म्याराथन सफलतापूर्वक पूरा गर्दै अन्तर्राष्ट्रिय स्तरमा सम्पूर्ण क्षेत्रको गौरव बढाएका छन्।
यी उपलब्धिहरूले दार्जिलिङ र सिक्किमका पहाडी धावकहरूको ठूलो प्रतिस्पर्धात्मक मञ्चमा बढ्दो प्रभाव स्पष्ट रूपमा देखाएको छ। प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापाले प्रतिक्रिया दिँदै भने, अनुशासन, निरन्तरता र सामूहिक दौडमार्फत स्वस्थ्य समाज निर्माण गर्नु नै प्रोजेक्ट लाइफको लक्ष्य हो। हाम्रा धावकहरूको सफलताले पहाडका खेलाडीहरू जुनसुकै मञ्चमा पनि चम्किन सक्छन् भन्ने प्रमाणित गरेको छ।”

About Author

Advertisement