खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङमा आयोजित भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको दुई दिवसीय छैंटौं वार्षिक सम्मेलनमा दुईजना वरिष्ठ स्रष्टाहरुलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ। दोस्रो दिनको अन्तिम सत्रमा स्रष्टा सम्मान अलङ्करण समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई स्रष्टा सङ्गमको केन्द्रीय महासचिव पास्टर शरण ‘शरद’ ले सञ्चालन गरेका थिए। कार्यक्रममा स्रष्टा सङ्गमको केन्द्रीय सल्लहाकार रेभरेन्ट डा. हेमन्त काँफ्लेले बाईबलबाट सन्देश बाँडेका थिए। उनले बाईबलबाट सन्देश बाढ्दै लेखन मानव सभ्यताभित्र जोडिएका शक्तिशाली माध्यम हो र यसले व्यक्तिको विकासमा सहयोग गर्छ भनी बताएका छन्। डा. हेमन्त काँफ्लेले भने, हाम्रो लेखन कलाले कसैको जीवन परिवर्तन गर्न सक्ने क्षमता राख्नुपर्छ। लेखन र प्रकाशनको कार्यले सेवाको अवसर बढाउँछ। लेखनले हामीपछि आउनेहरुलाई बाटो देखाउने काम गर्दछ।’
यसै कार्यक्रममा स्रष्टा सम्मान २०२६ द्वारा प्रेरित ध्रुव ‘शिष्य’ र कथाकार एडना घलेलाई स्रष्टा सम्मान २०२६ द्वारा सम्मानित गरिएको छ। यस अवसरमा दुवैलाई खदार्पणसहित टोपी (प्रेरित ध्रुव ‘शिष्य’ लाई), शल ओढाएर सम्मान जनाउँदै स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा सम्मान पत्र प्रेरित ध्रुव ‘शिष्य’को सम्मान पत्र शोभा राईले र एडना घले प्रधानको सम्मान पत्र रजनी जलनले पठन गरेका थिए। सम्मानपछि प्रेरित ध्रुव ‘शिष्य’ र कथाकार एडना घले प्रधानले आफ्नोे आफ्नो सम्बोधन राखेका थिए। दुवैले स्रष्टा सङ्गमप्रति आभार प्रकट गरेका छन्। उल्लेखनीय छ स्रष्टा सङ्गमको तर्फबाट २०१८ मा रेभ डा. एडोन रोंगोंगलाई अभिनन्दन, २०१९ मा सलोन कार्थक र गहर उदासीलाई, २०२० मा सुखनम र एल्डर दिनेश खालिङलाई सम्मान जनाइएको छ। त्यसरी नै २०२४ मा स्रष्टा सम्मानद्वारा रेभ डा. छत्र सुब्बा पावल र क्यामुना प्रधानलाई र २०२५ मा रेबिका कार्थकलाई भने यसपाली प्रेरित ध्रुव ‘शिष्य’ र कथाकार एडना घले प्रधानलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ।









