२२ मईः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर सिटीले चेल्सी विरुद्ध १-०-ले जीतको साथ खिताब जितेको खुशीयाली मनायो। शनिवार राति आर्सनलको हारसँगै सिटी प्रीमियर लीग २०२२-२३ सीजनको च्याम्पियन बनेको थियो तर टीमले ट्रफी उठाउन चाहिँ आइतवार रातिसम्म प्रतीक्षा गर्नु पऱ्यो। घरेलु समर्थकहरूले भरिएको ऐतिहाद स्टेडियममा इल्के गुण्डोगनले आफ्नो टीमसँग प्रीमियर लीग च्याम्पियनको रूपमा ट्रफी उठाए। म्यानचेष्टर सिटीको यो गत ६ सीजनमा पाँचौं प्रीमियर लीग खिताब हो। यसरी नै प्रशिक्षक पेप ग्वार्डियोलाको मार्गदर्शनमा सिटीको यो लगातार तेस्रो प्रीमियर लीग खिताब हो। शनिवार राति आफ्नो होम ग्राउण्डमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट म्याचको एकमात्र गोल जूलियन अल्वारेजले छिराए। अर्जेण्टिनाका यस स्ट्राईकरले म्याचको १२औं मिनटमा गोल गरे। यस जीतपछि सिटी ३६ वटा म्याचमा ८८ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी सीजनमा दशौंपल्ट हारको सम्मुखीन हुने चेल्सी चाहिँ ४३ पोइण्ट्सको साथ १२औं स्थानमा रहेको छ।
अन्य म्याचहरूमा वेष्ट ह्यामले लीड्स युनाइटेडलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड लण्डन स्टेडियममा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने वेष्ट ह्यामबाट डेक्लान राइसले ३२औं, जेर्रोड बोवेनले ७२औं अनि मानुएल लाञ्जिनीले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। लीड्सबाट रोड्रिगो मोरेनोले १७औं मिनटमा गोल गरे। यस हारपछि लीड्स युनाइटेड चाहिँ रेलिगेशनको नजिक पुगेको छ। अहिले १८औं स्थानमा रहने यस टीमसँग केवल ३१ पोइण्ट्स रहेको छ। य़सरी नै ब्राइटनले साउथम्प्टन विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट इवान फर्ग्यूसनले २९औं र ४०औं मिनटमा २ गोल गरे। ब्राइटन अहिले ३६ वटा म्याचमा ६१ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ।











