सोनादा: आगामी जीटीए चुनावको लागि रंगमुक धोतरिया रंगबुल समष्टीबाट हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले आज रंगमुक सिडर्स चियाबारीमा धरणामा बसिरहेका श्रमिकहरूलाई भेट्न पुगेका थिए। हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवास आज वेतन नपाएर धरणामा बसिरहेका श्रमिकहरूलाई भेट गरी विभिन्न समस्याहरू बुझ्ने प्रयास गरेका थिए। यसावधि हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले आफुले जितेको खण्डमा यस क्षेत्रमा नै जनसम्पर्क कार्यालय खोल्ने र श्रमिकहरूको समस्याहरू समाधान गर्नलाई सप्ताहमा एकपल्ट आउने पनि बताएका थिए। अर्कोतिर धरणामा रहेका श्रमिकहरूले चुनाव अघि नै हाम्रो समस्याहरू समाधान गरिदिने मांग गरेका छन्। धरणामा बसिरहेका श्रनिकहरूसित भेट गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै एनबी खवासले म आज आफ्नो चुनाव प्रचार गर्दै यहाँ आएर श्रमिकहरूको धरणा विषयमा जानकारी लिएको बताएका छन् । उनले यो विषयमा आफुलाई अलि अलि याद भएको बताउँदै म अहिले प्रार्थी भएपनि तृणमूल चियाबारी युनियनको उपाध्यक्ष रहेको र यस विषयमा सभाहरूमा सामेल भएको जानकारी गराउँदै सभामा मालिकवर्गले आफ्नो आर्थिक स्थितिको कारणले ३० जूनसम्मको समय मागेको थियो र जुलाईको पहिलो साता फेरि सभा हुनु थियो। तर मालिकवर्गले कुनै रहल नराख्ने भनेपनि अहिले आएर मालिकवर्गको उदासीनता देखियो र अब यहाँ सरकारले हस्तक्षेप गर्नु पर्ने देखिएको छ र यसको लागि हाम्रो पार्टीको युनियनहरू बसेर सभा गर्नेछ अनि अघिल्लो निर्णय लिने बताए। खवासले यस विषयमा म पनि कोलकोतामा सम्पर्क गरेर सरकारको हस्तक्षेपको मांग गर्नेछु भनी बताएका छन्।










