प्रहरीकै मिलेमतोमा जुवा, लेनदेन भएको २५ लाख रुपैयाँ फिर्ता, मोरङका एसपी सहित ४ जनालाई कारबाहीको तयारी

IMG-20241020-WA0122

बिराटनगर: अनलाइन मार्फत जुवा खेलाएर पैसा लिएको आरोपमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की सहित ४ जनालाई कारबाहीको तयारी सुरु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयले मोरङमा कार्यरत एसपी कार्कीले अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको पाइएपछि छानबिन अगाडि बढाएको हो। लेनदेनमा संलग्न रहेको आरोपमा गत बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत प्रदेश प्रहरी कार्यालय तानिएका छन्। घटनामा प्रत्यक्ष जोडिएका एसपी कार्की शुक्रवार हेडक्वार्टर तानिए। प्रदेश प्रहरी कार्यालयका अनुसार अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको प्रमाण पुगेपछि कारबाही प्रक्रिया सुरु भएको हो। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले अनियमितताको सूचनापछि तथ्यका आधारमा छानबिन भइरहेको बताए। प्रहरी उपरीक्षक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने उनको भनाइ छ। कारोबारी र प्रहरीबिच २५ लाख रुपैयाँ लेनदेन भएको देखिएको थियो। जिल्लाको टोलीले रकम लिएको विषयमा प्रदेशले आन्तरिक छानबिन सुरु गरेपछि रकम लिनेले सो रकम फिर्ता गरेको बताइएको छ।

About Author

Advertisement