खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा प्रधानमन्त्री आवास योजना अन्तर्गत लाभार्थीहरुले समयमा नै रकम नपाएको र घरहरुको निर्माण कार्य अधुरै रहेको भन्दै आज खरसाङमा सभा गरेर यस विषयमा खरसाङ महकुमा शासकलाई ज्ञापन दिने कार्य सम्पन्न गरेका छन्। आज प्रधानमन्त्री आवास योजना अन्तर्गत घरहरुको निर्माण कार्य अधुरो रहेको र समयमा नै रकम नपाएका लाभार्थीहरु भेला भएर खरसाङको गोर्खा जनपुस्तकालय भवनमा एक सभाको आयोजना गरेका छन्। उक्त सभापछि लाभार्थीहरुले रैलीको साथमा खरसाङ महकुमा शासक कार्यालय पुगेर यस विषयमा खरसाङ महकुमा शासकलाई ज्ञापन दिने कार्य सम्पन्न गरेका छन्। यस विषयमा महकुमा शासक कार्यालय परिसरमा भेला भएका लाभार्थीहरुलाई स्थानीय रामकृष्ण शर्माले सम्बोधन गरेका थिए। खरसाङ नगरपालिका क्षेत्रमा प्रधानमन्त्री आवास योजना अन्तर्गत घरहरुको निर्माण कार्य अधुरो रहेको साथै विभिन्न किस्ताहरुमा रकम नपाएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रामकृष्ण शर्माले प्रधानमन्त्री आवास योजना अन्तर्गत घरहरुको निर्माण कार्य पूरा नभएको भन्दै लाभार्थीहरु भेला भएर सभा गरेर खरसाङ महकुमा शासकलाई ज्ञापन दिने कार्य गरिएको जानकारी गराएका छन्। उनले यस विषयमा भने, प्रधानमन्त्री आवास योजना अन्तर्गत लाभार्थीहरुको घर बनाउन पैसा पस्नु पर्ने हो तर आधाकल्चो घर रहेको कारणले लाभार्थीहरु यसरी अघि आउनु परेको हो। लाभार्थीहरुको पैसा नपसेको ४ वर्ष, ५ वर्ष र ६ वर्ष पनि भईसकेको तर अहिलेसम्म पसेको छैन। यस विषयमा कसैलाई कुनै वास्ता नभएपछि नै आरटीआई गरेको र आरटीआईमा २०१५ देखि २०२० सम्म ११६४ वटा घरहरु बनिनु पर्ने तर अहिलेसम्म केवल ३३८ वटा घरहरु मात्र बनिएको छ तर अरु सबै आधाकल्चो छ। पैसा नपाएपछि लाभार्थीहरु निरन्तर नगरपालिकामा गएर पनि निराशा मात्र हात परेको छ। रामकृष्ण शर्माले अघि भने, नगरपालिकामा गएर जति सोधपुछ गरे पनि केही नलागेपछि नगरपालिका ऐन १९९३ अनुसार नगरपालिकाले राम्रोसितले काम गर्न सकेन भने महकुमा शासकले हस्तक्षेप गर्न सक्छ र त्यही भएर हामी लाभार्थीहरु महकुमा शासकलाई ज्ञापन दिन गएका हौँ। कालेबुङ र मिरिकमा सबै पूरा भईसकेको अनि २०२२-२३ को काम शुरु गरिएको तर खरसाङमा मात्र पुरानो काम पनि नभएकोले नै हामी कानुन अनुरुप आफ्नोे अधिकारको लागि सामुहिक रुपमा हस्ताक्षर गरेर ज्ञापन पत्र बुझाउने कार्य गरिएको छ।









