प्रतिबन्धित नशालु पदार्थसहित सरकारी कर्मचारी पक्राउ

IMG-20250707-WA0151

गान्तोक: सोरेङ जिल्लाको दोदक निवासी बिनोद छेत्रीलाई पुलिसले भारी मात्रामा ड्रग्ससहित पक्राउ गरेको छ। पुलिसले आरोपीबाट एक फाइल प्रोक्सिमेक स्पास्मो र ब्राउन सुगर फेलापारे पछि पक्राउ गरेको हो। पुलिसले थप जानकारी गराएअनुसार हिजो राति सोरेङदेखि सिलगढी चल्ने सर्विस वाहन एसके ०२-१३४० लाई च्याखुङ गेट अघि जाँच गर्नेक्रममा आरोपीबाट ड्रग्स फेला पारेको हो। पुलिसले स्थानीय खण्ड विकास अधिकारीको उपस्थितिमा ड्रग्स सिज गरेको छ। आरोपीविरूद्ध सोरेङ जिल्ला पुलिसले एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। पुलिसको भनाइअनुसार पक्रा पर्ने आरोपी सोरेङ जिल्लाको खण्ड प्रशासनिक केन्द्रमा एलडीसीको पदमा कार्यरत थिए। उनले एक परिवार एक नोकरी योजनाअन्तर्गत सरकारी काम पाएका थिए। आरोपीलाई पुलिसले धेरै दिनदेखि निगरानी राख्दै आइरहेको जानकारी गराइएको छ। सोरेङ जिल्ला पुलिसले जिल्लालाई नशामुक्त बनाउनको निम्ति गैरसरकारी संस्था, नागरिक समाजलाई अघि आउँदै नशालु पदार्थविरूद्ध लडनुपर्ने आग्रह गरेको छ। उल्लेखनीय छ, गत २६ जूनको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले नशालु पदार्थ धन्दाविरूद्ध पुलिसले कडारूपमा निगरानी गर्नुपर्ने साथै यसलाई नियन्त्रण गर्नको निम्ति सबै प्रकारको नीति अप्नाउनु पर्ने निर्देश दिएका थिए। नशालु पदार्थ समाज, राज्य र देशको निम्ति नै एक चुनौतिको विषय बन्दै गइरहेको हुनाले यसलाई नियन्त्रण गर्न पुलिस विभागलाई सरकारको तर्फबाट चाहिने सबै प्रकारको सहयोग उपलब्ध गराउने वचन दिएका थिए। मुख्यमन्त्री तामाङले दिएको आश्वासन अनुसार हाल पुलिसले विभिन्न क्षेत्रबाट नशालु पदार्थको धन्दा गर्नेहरूलाई निगरानी राख्दै पक्राउ गरिरहेको छ।

About Author

Advertisement