‘प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव–२०७९ पुरस्कार अर्पण समारोह’ सम्पन्न

IMG_20220913_162216.jpg

काठमाडौं: नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सोमबार १२ अगस्तमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव–२०७९ पुरस्कार अर्पण समारोह’ प्रज्ञा सम प्रेक्षालय, प्रज्ञा भवन, कमलादी, काठमाडौँमा भव्यतापूर्वक सम्पन्न भयो। उक्त समारोहमा राष्ट्रपतिबाट नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार वरिष्ठ दर्शनशास्त्री प्रा.विद्यानाथ उपाध्याय (काठमाडौँ) लाई, भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार वरिष्ठ साहित्यकार नरबहादुर दाहाल (दार्जीलिङ, भारत) लाई, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार वरिष्ठ कवि रामचन्द्र भट्टराई (रूपन्देही) लाई, नेपाल प्रज्ञा संस्कृति पुरस्कार वरिष्ठ संस्कृतिविद् प्रा. डा. प्रेमकुमार खत्री (भोजपुर) लाई,  नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार वरिष्ठ इतिहासविद् डा. नयनाथ पौडेल (ललितपुर)लाई, नेपाल प्रज्ञा अनुवाद पुरस्कार वरिष्ठ साहित्यकार/समालोचक/अनुवादक प्रा.डा.गोविन्दराज भट्टराईलाई,  नेपाल प्रज्ञा मातृभाषा साहित्य (पुरस्कार हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि श्री खेन्पो ङवाङ वोसेर लामा (शेर्पा भाषा, दोलखा)लाई र तराई/मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि श्री शर्मिला चौधरी (थारू भाषा, कञ्चनपुर) लाई प्रदान गरियो।

त्यस्तै राष्ट्रपतिबाट राष्ट्रिय कविता महोत्सव–२०७९ मा प्रथम स्थान प्राप्त गर्नुभएकी टीका आत्रेय (सुनसरी), द्वितीय स्थान प्राप्त गर्नुभएका यात्रीप्रकाश पाण्डेय (धादिङ) एवं तृतीय स्थान प्राप्त गरेका क्रमशः सीता तुम्खेवा (भक्तपुर), किरण सिवा (सुनसरी) र कमलराज केसी (अछाम) लाई क्रमशः स्वर्ण पदक, रजत पदक र कांस्य पदकसहित नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गरियो। कार्यक्रममा राष्ट्रपति, मन्त्री र  कुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष सम्बोधन रहेको थियो। उपकुलपति डा. जगमान गुरुङज्यूको स्वागत मन्तव्य रहेको सो  कार्यक्रममा सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले प्रज्ञा पुरस्कारसम्बन्धी प्रतिवेदन–२०७९ र साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले कविता महोत्सव–२०७९ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे। विभिन्न प्रज्ञा पुरस्कारहरूबाट सम्मानित साधकहरूका तर्फबाट  नरबहादुर दाहालले मन्तव्य राख्नुभयो भने कविता महोत्सवका पुरस्कृत कविहरूका तर्फबाट प्रथम स्थान प्राप्त गरेकी टीका आत्रेयले आफ्नो ‘सङ्कल्प’ शीर्षकको कविता वाचन गरे।

About Author

Advertisement