काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशसभाको चुनावलगत्तै सडकमा उत्रिने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको नेपाली मार्गचित्र विषयक गोष्ठिमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणालीको विरुद्धमा २० नोभेम्बरमा हुने संघ र प्रदेशसभाको निर्वाचनलगत्तै सडकमा उत्रिने घोषणा गरेका हुन्। हालको शासन प्रणाली र निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। ‘मैले आफ्नो पार्टीभित्र त भनेकै छु, चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु समाजवादको जे परिकल्पना संविधानमा गर्न खोजेको हो मैले कम्युनिस्ट एकता गर्दाको घोषणपत्रमा पनि समाजवादतिर लाने कुरा छन्,’ प्रचण्डले भने।
उनले प्रदेश र संघको निर्वाचन नजिकिएकाले तत्काल सडकमा जान सम्भव नभएको उनले दावी गरे। प्रचण्डले भने, ‘अहिले निर्वाचन आइनै सक्यो प्रदेश र संघको निर्वाचन सङ्घारमा छौ हामी। गणतन्त्र र संघीयता माओवादीसँगै जोडिएको छ। तर विभिन्न कोणबाट परिवर्तनलाई निस्तेज पार्न भएको प्रहारले मलाई नै सबैभन्दा बढी छटपटी भएको छl’ यसभन्दा अगाडि पनि प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको बताएका थिए। उनले खर्चिलो निर्वाचन प्रणालीका कारण भ्रष्टाचार बढेकोसमेत दाबी गरेका थिए। प्रचण्ड वर्तमान शासन प्रणाली र निर्वाचन प्रणालीको विरुद्धमा बोल्दै आएका छन्।









