पेरिस ओलम्पिकमा छाप छोड़्न तयार भारतको युवा जोश

IMG-20240723-WA0215

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा यसपाली युवा भारतको जोश देखिनेछ। भारतको ११७ सदस्यीय दलमा ७० जना खेलाड़ीले पहिलोपल्ट ओलम्पिकमा हिस्सा लिनेछन्। यसमा २९ जना महिला खेलाड़ी सामेल छिन्। बक्सर निकहत जरीन, पहलवान अन्तिम पंघाल, रीतिका, एथलीट ज्योति याराजी, शूटर सिफ्त कौर समरा, रमिता, रिद्म सांगवान जस्ता देशकी छोरीहरूमा पहिलोपल्ट ओलम्पिक खेल्दै देशलाई पदक दिलाउने क्षमता रहेको छ। पहलवान अमन सहरावत, ज्याभलिन थ्रोअर किशोर जेना, आर्चर बी धीरज, बक्सर निशान्त देव, शूटर सरबजोत सिंह, सन्दीप सिंह, अर्जुन बबूटा, अर्जुन चीमा, अनीशले पनि आफ्नो पहिलो ओलम्पिक खेल्दै देशलाई गौरवान्वित गर्ने प्रयास गर्नेछन्। भारतको ११७ सदस्यीय दलमा ४७ जना यस्ता खेलाड़ी छन्, जसमा एक या त्यसभन्दा अधिक ओलम्पिक खेल्ने अनुभव रहेको छ। यसमा पुरुष हकी टीमसहित पाँच पदक विजेताहरू सामेल छन्। टोक्यो ओलम्पिकमा भारतले एउटा स्वर्ण, २ वटा रजत र ४ वटा काँस्यको साथ जम्मा ७ वटा पदक जितेको थियो। यसमा स्वर्ण पदक जित्ने ज्याभलिन थ्रोअर नीरज चोपड़ा, रजत जित्ने वेटलिफ्टर मीराबाई चानू, काँस्य पदक जित्ने महिला बक्सर लवलीना बोरगोहेन, शट्लर पीभी सिन्धू र पुरुष हकी टीमले फेरि एकपल्ट पदकको निम्ति चुनौती पेश गर्नेछ।
भारतीय दलमा अनुभवको कुनै कमी छैन। टेबल टेनिस खेलाड़ी अचन्ता शरत कमल आफ्नो पाँचौं ओलम्पिकमा हिस्सा लिन गइरहेका छन्। उनी उद्घाटन समारोहमा भारतीय दलको ध्वजवाहक पनि हुनेछन्। यसरी आर्चर तरुणदीप राई, दीपिका कुमारी, हकी खेलाड़ी पीआर श्रीजेश र मनप्रीत सिंहको यो चौथो ओलम्पिक हुनेछ। भारतीय दलको सबैभन्दा अधिक उमेरका खेलाड़ी ४४ वर्षीय टेनिस खेलाड़ी रोहन बोपन्ना हुनेछन् जबकि सबैभन्दा कम्ती उमेरका खेलाड़ी १४ वर्षीय स्वीमर दिनिधि देसिंघु हुनेछन्। यसअघि ११ वर्षको उमेरमा स्वीमर आरती साहाले १९५२-को ओलम्पिकमा हिस्सा लिएकी थिइन्। दलमा तीनजना खेलाड़ी बोपन्ना, शरत कमल (४२) र तरुणदीप राई (४०)-को उमेर ४० वर्षभन्दा अधिक रहेको छ। ट्र्याप शूटर पृथ्वीराज टोण्डाईमान (३७), हकी गोलकीपर श्रीजेश (३६), गोल्फर गगनजीत भुल्लर (३६), एथलीट एमआर पूवम्मा (३४), शट्लर अश्विनी पोनप्पा (३४), शट्लर एचएस प्रणय (३२) अन्य अधिक उमेरका खेलाड़ी हुनेछन्।
पेरिसको निम्ति हकीको मुख्य टीममा १६ र ३ जना रिजर्भ खेलाड़ीको रूपमा चयन गरिएको छ। यसमा टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने टीमका १२ जना खेलाड़ी रहेका छन्। भारतीय हकी टीमले पेरिस ओलम्पिकमा आफ्नो अभियानको शुरुवात २७ जुलाईमा न्यूजील्याण्डविरुद्ध म्याचको साथ गर्नेछ। त्यसपछि २९ जुलाईमा अर्जेण्टिनासँग म्याच रहेको छ। भारतले ३० जुलाईमा आयरल्याण्ड र १ अगस्तमा गत विजेता बेल्जियमविरुद्ध खेल्नेछ। भारतले ग्रुप चरणमा आफ्नो अन्तिम म्याच २ अगस्तमा अष्ट्रेलियाविरुद्ध खेल्नेछ।

About Author

Advertisement