पेट्रोल छर्केर राईले आफ्नै आमा र छिमेकीमाथि आगो लगाए

IMG-20250210-WA0180

झापा: खोटाङमा घरायसी विवाद हुँदा एक व्यक्तिले आफ्नै आमा र छिमेकीमाथि आगो लगाइदिएका छन्।
गएराति ९.५५ बजे खोटाङ केपिलासगढी-७ सुङदेल कात्तिके बस्ने ३८ वर्षीय निरकुमार राईले घरायसी विवाद हुँदा आफ्नै आमा ७८ की गौमाया राई र छिमेकी ५५ वर्षीय देशमाया राईलाई आफ्नै घरमा रहेको पेट्रोल छर्केर आगो लगाइदिएका हुन्। गौमाया राईको कम्मरमुनिको भाग , दुई वटा हात, अनुहार जलेको छ भने देशमाया राईको कम्मरमुनिको भाग र दुई वटा हात जलेको छ।
दुवैलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ। आगो लगाउने निरकुमार राई तत्काल फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ।
यता धनकुटाको चौबीसेमा विहे घरमा खुकुरी प्रहार भएको छ। धनकुटा चौबीसे-८ आमडाँडा बस्ने दलबहादुर मगरको घरमा वैवाहिक कार्यक्रम चलिरहेको थियो। उक्त घरमा निम्तो मान्न आएका सोही ठाउँ बस्ने २१ वर्षीय छवि मगरलाई २१ वर्षीय बिपिन थापाले गएराति ८.३० बजे खुकुरी प्रहार गरेका हुन्।
अत्यधिक मादक पदार्थ सेवन गरी विवाद भई थापाले खुकुरी प्रहार गर्दा मगरको दाहिने हातको माझी औंलाको पछाडी र बायाँ हातको बुढी औलाको कापमा काटिएको छ। घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको र खुकुरीसहित खुकुरी प्रहार गर्ने थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय राजारानीमा राखिएको प्रहरीले जनाएको छ।

About Author

Advertisement