नयाँ दिल्ली: तीनपल्टका ग्राण्ड स्ल्याम च्याम्पियन स्टान वावरिंकालाई अमेरिकी ओपन टेनिस टुर्नामेण्टमा खेल्ने अझ एउटा मौका प्राप्त भएको छ। २०१६-का अमेरिकी ओपन च्याम्पियन वावरिंकालाई टुर्नामेण्टको मुख्य ड्र-को निम्ति वाइल्ड कार्ड दिइएको छ। अमेरिकी खेलाड़ी पेट्रिक काइप्सनले चोटले गर्दा टुर्नामेण्टबाट नाम फिर्ता लिँदा आयोजकहरूले यस्तो फसेला गरेका छन्। स्विट्जरल्याण्डका ४१ वर्षीय खेलाड़ी वावरिंकाले यसअघि वाइल्ड कार्ड नपाउँदा अमेरिकी ओपनको मुख्य ड्र-मा स्थान पाएका थिएनन्। उनले मंगलवार सोशल मीडियामा एउटा सन्देश साझा गरेका थिए, जसमा उनले न्यूयोर्क र अमेरिकी ओपनलाई बिदावारी जनाएको संकेत दिएका थिए। यूएस टेनिस एसोसिएशन (यूएसटीए)-ले आफ्नो अन्तिम वाइल्ड कार्ड स्थानीय खेलाड़ी पेट्रिक काइप्सनलाई दिएको थियो। त्यस समय काइप्सनको ऱ्याङकिंग ११५ थियो तर चोटले गर्दा उनले नाम फिर्ता लिँदा खाली स्थानमा वावरिंकालाई मौका दिइयो। वावरिंकाले वाइल्ड कार्ड स्वीकार गर्दै भने, म २०२६ अमेरिकी ओपनको वाइल्ड कार्ड स्वीकार गरेर धेरै उत्साहित छु। म न्यूयोर्कमा एकपल्ट फेरि प्रशंसकहरू अघि खेल्ने प्रतीक्षामा छु। उल्लेखनीय छ, वावरिंका आफ्नो समयका सबैभन्दा सफल टेनिस खेलाड़ीहरूमा सामेल रहे। उनले यस्तो समयमा टेनिस खेले जब रोजर फेडरर, रफायल नडाल, नोवाक जोकोविच र एण्डी मरे जस्ता दिग्गज खेलाड़ीहरू शीर्षमा रहेका थिए। स्विस् खेलाड़ीले २०१४-मा अष्ट्रेलियन ओपनको फाइनलमा नडाललाई पराजित गरी आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जितेका थिए। त्यसपछि २०१५-मा उनले फ्रेञ्च ओपनको फाइनलमा सर्बियाई दिग्गज जोकोविचलाई पराजित गरेका थिए। वावरिंकाले २०१६-मा एकपल्ट फेरि जोकोविचलाई पराजित गरी अमेरिकी ओपनको खिताब जितेका थिए। वावरिंकाको करियर चोटहरूले पनि प्रभावित रह्यो। २०१७-मा घुँड़ाको २ वटा सर्जरीले गर्दा उनले अमेरिकी ओपनमा हिस्सा लिन सकेनन्। त्यसपछि २०२१-मा उनले फेरि खुट्टाको २ वटा सर्जरी गराउनु पऱ्यो। वावरिंका आफ्नो करियरमा एटीपी ऱ्याङकिंगमा तेस्रो स्थानसम्म पुगेका थिए। उनले २००८-मा बेजिंग ओलम्पिकमा फेडररसँग पुरुष युगलमा स्वर्ण पदक जितेका थिए।









