खरसाङ: खरसाङ नगरपालिकाको पूर्व भाइस चेयरम्यान तिलककुमार प्रधानको अन्तिम संस्कार सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उनको अन्तिम यात्रा खरसाङ बजारको हार्ट बजारस्थित डोको लाइनमा रहेको घरबाट निकालिएको थियो। अन्तिम यात्रा घरबाट शुरू भएर बजार परिक्रमा गर्दै खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा आधा घण्टाक समयसम्म राखिएको थियो। यसावधि गोर्खा जनपुस्ताकालय भवनमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। उक्त श्रध्दाञ्जली कार्यक्रममा एक मिनटको मौन धारण गरिएको थियो। यसावधि बिनोद प्रकाश शर्मा र आईएन शर्माले पूर्व नगरपालिका उपाध्यक्ष एंव पुस्तकालयको पूर्व कार्यकारी सदस्य तिलककुमार प्रधानले समाजप्रति दिएको योगदान र गोर्खा जनपुस्ताकालयलाई लिएको विशेष योगदान विषयमा विस्तृत रूपमा बताएका थिए। यसावधि पण्डित तुलसीप्रसाद अधिकारीरूद्वारा शान्ति मन्त्रोच्चारण गरेका थिए। तिलककुमार प्रधानको पार्थिव शरीरलाई गोर्खा जनपुस्ताकालय भवनमा राखेर पुस्तकालयको पदाधिकारीहरू र वरिष्ठ सदस्यहरूले उपस्थित भएर श्रध्दाञ्जली अर्पण गरेका थिए। उल्लेखनीय छ तिलककुमार प्रधान सन् १९८४ देखि १९९९ सम्म लगातार रुपमा १५ वर्षसम्म खरसाङ नगरपालिकाको भाइस चेयरम्यान रहेका थिए। उनको जन्म ३ जनवरी १९३२ सालमा खरसाङमा भएको थियो। उनी खरसाङ महकुमा खेलकूद संघको संस्थापक सदस्य, गोर्खा दुःख निवारक सम्मेलन खरसाङको संस्थापक सदस्य, गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व कार्यकारी सदस्य पनि रहेका थिए। उनले भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको भवन निर्माणमा मुख्य भूमिका निर्वाह गरेको बताइएको छ।










