पूर्वी भारतमा खाद्य तेल मूल्य शृंखला सुदृढ गर्न एनडीडीबीको पहल

7a86c4de-7af2-487b-b4d1-75eebc8de084

आईआईटी खड्गपुरसँग समझदारी

कोलकाता: पूर्वी भारतमा खाद्य तेलको मूल्य शृंखला सुदृढ गर्ने उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) ले नयाँ पहल सुरु गरेको छ। पश्चिम बंगाल सरकारका कृषि बजारीकरण तथा पञ्चायत एवं ग्रामीण विकास विभागका प्रभारी मन्त्री दिलीप घोषले कोलकाताको न्यू टाउनस्थित आईआईटी खड्गपुर रिसर्च पार्कमा आयोजित कार्यक्रममा उक्त पहलको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा पश्चिम बंगाल सरकारका सहकारिता तथा खाद्य एवं आपूर्ति विभागका मन्त्री अशोक कीर्तानियासहित एनडीडीबीका अध्यक्ष डा. मीनेश शाह, आईआईटी खड्गपुरका निर्देशक प्रो. सुमन चक्रवर्तीलगायत सरकारी अधिकारी, किसान, सहकारी संस्था र किसान उत्पादक संगठन (एफपीओ) का प्रतिनिधिको सहभागिता थियो।
सोही अवसरमा एनडीडीबी र आईआईटी खड्गपुरबीच खाद्य तेल क्षेत्रमा अनुसन्धान, प्रविधि विकास, क्षमता अभिवृद्धि, बालीपछिको व्यवस्थापन, प्रशोधन तथा मूल्य अभिवृद्धिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीअन्तर्गत एनडीडीबीको किसान संस्था, सहकारी तथा एफपीओसँगको कार्यानुभवलाई आईआईटी खड्गपुरको अनुसन्धान, इन्जिनियरिङ, प्रविधि, डेटा विश्लेषण र बालीपछिको व्यवस्थापनसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ। यसमा आईसीएआर, बीएआरसी, कृषि विज्ञान केन्द्र (केभीके) तथा राज्य कृषि विश्वविद्यालयबाट समेत प्राविधिक सहयोग प्राप्त हुने जनाइएको छ।
कार्यक्रममा किसानलाई बीउ मिनीकिट वितरण गरी क्षेत्रीयस्तरमा पहलको सुरुआत गरिएको थियो।
मन्त्री दिलीप घोषले तोरी, बदाम, सूर्यमुखी र तिलजस्ता तिलहन बालीको उत्पादन बढाएर किसानको आम्दानी वृद्धि गर्ने पश्चिम बंगाल सरकारको लक्ष्य रहेको बताए। उनले उत्पादनको संकलन, भण्डारण, प्रशोधन र बजारसम्म किसानको पहुँच सुधार गर्नुपर्नेमा जोड दिए।
एनडीडीबीका अध्यक्ष डा. मीनेश शाहले घरेलु तिलहन उत्पादन र यससँग सम्बन्धित मूल्य शृंखला सुदृढ गर्नु एनडीडीबीको प्राथमिकतामा रहेको बताए। उनले तिलहन खेतीलाई दुग्ध उत्पादन तथा अन्य कृषि गतिविधिसँग जोडेर किसानको आम्दानीका स्रोत विविधीकरण गर्न सकिने बताए।
यस पहलमार्फत पूर्वी क्षेत्रमा घरेलु तिलहन उत्पादन, संकलन, प्रशोधन, मूल्य अभिवृद्धि र बजार पहुँचलाई किसान–केन्द्रित तथा सहकारी नेतृत्वको माध्यमबाट सुदृढ गर्ने लक्ष्य राखिएको छ।

About Author

Advertisement