पूर्वी नेपालको मेचीनगर नगरपालिका अन्तर्गत बाहुन्डागीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव हुने

IMG-20260112-WA0119

खरसाङ: पूर्वी नेपालको मेचीनगर नगरपालिका वडा नम्बर ४, बाहुन्डागी बजारमा आगामी १४ र १५ जनवरीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव भव्य रूपमा आयोजना हुने भएको छ। यो उत्सव कृषि, संरक्षण, संस्कृति र पर्यटनलाई एउटै सूत्रमा बाँध्दै अन्तरसीमा सहकार्य र आत्मनिर्भर ग्रामीण विकासको सशक्त सन्देश बोकेको कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ। चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव विषयमा भारत र नेपालका पत्रकारहरुलाई राखेर पत्रकार सम्मेलन आयोजना गरिएको थियो। उक्त पत्रकार सम्मेलनमा आयोजक समितिको तर्फबाट यस वर्षको तरुल उत्सवको प्रमुख विशेषता भनेको नेपालका सातै प्रदेशको सहभागिता तथा भारत र भुटानबाट स्टलसहित पर्यटनकर्मी, संरक्षणवादी, कृषि विज्ञ र सांस्कृतिक टोलीहरूको उपस्थिति रहने भएको जानकारी गराएका थिए। यसले बाहुन्डागीलाई अन्तरसीमा पर्यटन र सांस्कृतिक आदान–प्रदानको जीवन्त केन्द्रका रूपमा स्थापित गर्ने विश्वास आयोजक समितिले लिएको छ। यस उत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ। उत्सवको दोस्रो दिन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी पहिलो चरणको प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ भने
बेलुकाको सांस्कृतिक कार्यक्रममा झापा क्षेत्र नं. १ ‘क’ का कोशी प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ। सांस्कृतिक प्रस्तुतिका सन्दर्भमा,
दार्जिलिङबाट चर्चित लोकगायिका डेजी बराइली र संगीतकर्मी चन्दन लम्जेल, काेचबिहारबाट लोकगायक राजिवजीको टोली,
“झम्के गुलेली” जस्तो चर्चित लोकगीतमार्फत् लोकप्रियता कमाएका सांस्कृतिक विज्ञ तथा लोकगायक कमलीकान्त भेटवाल, रेडियो नेपालका निर्देशक तथा चर्चित गीत–संगीतकार डा. टिका भण्डारी तथा भारत–नेपाल सिने जगतका स्थापित अभिनेता एवं प्रखर उद्घोषक सिद्धार्थ सिंह जस्ता विशिष्ट व्यक्तित्वहरूको बेजोड प्रस्तुति रहने भएको छ।
उत्सव अवधिभर लोकनृत्य प्रतियोगिता, मानव–हात्ती द्वन्द्व न्यूनीकरण विषयमा विज्ञ बहस, अन्तरसीमा पर्यटन र जैविक कृषि प्रणालीसम्बन्धी संवाद, जातीय संस्कार, संस्कृति र भेषभूषाको प्रस्तुति, लोकमौलिक हस्तकला, ललितकला, साहित्य,
तथा रोग लाग्दा उपयोगी, रहरलाग्दा र पृथक् रैथाने उत्पादनहरूका स्टलहरू रहनेछन्। यसै अवसरमा अर्को महत्वपूर्ण उपलब्धि स्वरूप सिक्किमको “डिसकाेवर तेमि” (Discover Temi) संस्था र चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव आयोजक समितिबीच
कृषि, संस्कृति, पर्यटन तथा सहकार्यका विविध विषयमा तीन वर्षे पर्यटन समझदारी हुने जानकारी गराइएको छ। यो सम्झौताले नेपाल–भारतबीचको ग्रामीण पर्यटन सहकार्यलाई दीर्घकालीन रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ।
साथै, सामाजिक उत्तरदायित्वको उदाहरणस्वरूप सहिद सुरेश थापा, ममतामयी माता मनमाया थापा तथा स्वर्गीय महेश थापाको स्मृतिमा, उनीहरूका परिवारका सामाजिक तथा धार्मिक व्यक्तित्व नेत्र थापाको पहलमा खुसीलाल चोकदेखि प्रहरी चौकी हुँदै मेची खोलासम्म जाने बाटोमा टाइल्स बिछ्याइने घोषणा कार्यक्रम पनि यही उत्सवका क्रममा हुने भएको छ। यो सम्पूर्ण कार्यक्रम मेचीनगर नगरपालिकाका विभिन्न संघसंस्था, नागरिक समाज, स्थानीय समुदाय र आयोजक समितिको संयुक्त पहलमा उँ आयोजना हुँदैछ। यस चौथो अन्तर्राष्ट्रिय तरुल उत्सवमार्फत कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भरपुर प्रचार–प्रसार गर्ने लक्ष्य लिइएको छ।


आयोजक समितिले स्पष्ट पारेको छ कि यो उत्सव गरिबी वा पीडाको प्रदर्शन होइन, पीडाभित्रै सम्भावना सिर्जना गर्न सक्ने सामर्थ्यको घोषणा हो।
तरुल यहाँ केवल खानाको रूपमा होइन, स्वास्थ्य, जैविक कृषि, संस्कृति र आत्मनिर्भर भविष्यको प्रतीकका रूपमा प्रस्तुत हुनेछ।

About Author

Advertisement