‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक

sarangai-2-1

काठमाडौं: चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ। निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट शुरु हुन्छ। छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुहारमा देखिन्छ। त्यसपछि शुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन्। गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ। बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बाबुले गरेको दुःख र अपेक्षा बोलेको छ।

शिक्षाबिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ। भिडियोमा विजयसँगै चलचित्रका अर्का मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन्। प्रकाशले गाउँ छोडेर शहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ३१ अक्टोबर (कात्तिक १५ गते) रिलिज हुनेछ। विजय बराल र प्रकाश सपूतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ।

चलचित्रको थिम पोस्टरले नै उत्सुकता जगाएको सिनेमाको टिजर सार्वजनिक भएपछि हाइप बढाएको छ। टिजरले नै प्रतिक्षित बनाएको चलचित्रको गीत पनि मर्मस्पर्शी रहेको छ। गीतले बाबु र छोराको सम्बन्धको कथालाई थप देखाउने प्रयास गरेको छ। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्। यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ। सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ। सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्। सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ।

About Author

Advertisement