‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक

anjana

काठमाडौं: अक्टोबर ३१ (कात्तिक १५ गते) रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ। निर्माणपक्षले बिहीबार सार्वजनिक गरिएको यो गीत ‘दोहोरी ब्याटल’को रहेको छ। गीतमा आशिष अभिरल र मेलिना राईको स्वर छ। नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ। भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन्। ब्याटलमार्फत निर्माणपक्षले सिनेमाको गीतमा केही फरकपन दिन खोजेको छ। ब्याटलमा महिला र पुरुषका दुई टिम छन्। ब्याटल महिलाले राखेको सर्तसहित सुरु गरिएको छ। महिला टिमले जिते अन्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने र पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने ब्याटलको शुरुमा शर्त छ।

सर्तमा दुवै पक्ष मञ्जुर भएपछि शुरु हुने दोहोरी ब्याटलमा युवायुवतीको प्रेम, विवाह, घरजम, सन्तान, परिवार र सुखजस्ता पारिवारिक पक्ष समेटिएको छ। रोधीको पनि छनक यो ब्याटलमा देखिन्छ। ब्याटलमा महिलापक्षले हारेपछि सर्तमा मञ्जुर भएको गीत र यसको भिडियोमा देखिन्छ। तर, अन्जनाले ब्याटल जानीजानी हारेजस्तो देखिन्छ। केही दिन अघि सार्वजनक भएको ट्रेलरले आम दर्शक र फिल्मकर्मीको मन जित्न सफल भएको थियो। ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ। सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको छ। संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ। चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्। निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन्। कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन्।

About Author

Advertisement