गान्तोक: राज्य सरकारले राजधानी गान्तोकको पुरानो एसटीएनएम अस्पताल परिसरलाई योग अभ्यासको सुविधायुक्त वेलनेश सेन्टरमा फेर्ने भएको छ। मुख्यमन्त्री प्रेम सिंह तामाङले हिजो राजधानीको पाल्जोर स्टेडियमबाट देशको स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन्।
राजधानीवासीले एउटा मनोरञ्जन स्थलको अभाव अनुभव गरिरहेकोले सरकारले पुरानो एसटीएनएम अस्पतालमा वेलनेश सेन्टर स्थापना गरिने सरकारको निर्णय रहेको मुख्यमन्त्रीले बताए। यस वेलनेश सेन्टरमा विशेष गरेर समाजका जेष्ट नागरिकहरूले समय बिताउन सक्ने मुख्यमन्त्रीको भनाइ रहेको छ। यसको साथै यस वेलनेश सेन्टरमा विभिन्न पार्मपरिक उपचारहरूको सुविधा पनि रहने उनले थप बताए।
हिजो आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले अर्को पनि एउटा महत्वपूर्ण घोषणा गरे। राज्यका ओल्ड एज होमहरूमा वृद्ध-वृद्धाहरूको बड़दो सङ्ख्यालाई लिएर चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले आफ्नो आमा-बाबुको राम्रो हेरचाह गर्ने छोरा-छोरीलाई श्रावणकुमार पुरस्कार प्रदान गर्ने घाषणा गरेका छन्।








