पीसीएस कार्यकारी समितिको राज्यपालसित सौहार्द्धपूर्ण भेट

IMG-20230325-WA0335.jpg

गान्तोक। सिक्किमेली पत्रकारहरूको शिर्षस्थ सङ्गठन प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिले आज राज्यका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित राजभवनमा शिष्टाचार भेट गरे। प्रेस क्लब अफ् सिक्किमको प्रतिनिधि टोलीलाई अध्यक्ष शेखर खवासले अगुवाइ गरेका थिए। उनले राज्यपाललाई राज्यका पत्रकारहरूको पक्षमा स्वागत जनाउँदै प्रेस क्लब अफ् सिक्किमको बारेमा अवगत गराए।

प्रेस क्लब अफ् सिक्किमका प्रतिनिधिहरूसित कुराकानी गर्दै राज्यपाल लक्ष्मण प्रसादले सिक्किमको प्राकृतिक सुन्दरता साथै सिक्किमवासीको सरलताबाट आफू अत्यन्तै प्रभावित भएको बताए। सिक्किम जस्तो सुन्दर राज्यको वासिन्दा हुनपाउनु सिक्किमवासीको निम्ति सौभाग्यको कुरा रहेको उनले थप बताए। यसको साथै राज्यमा पर्यटन, जैविक खेती, जैवविविधता आदिको क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै सिक्किमका यी विशेषताहरूलाई राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावकारी ढङ्गमा प्रचार प्रसार गरिनुपर्ने कुरामा जोर दिए। यस दिशामा प्रेस क्लब अफ् सिक्किमले पहल गर्नुपर्ने राज्यपालले सुझाउ दिएका छन्। राज्यपालको सुझाउको सन्दर्भमा बोल्दै अध्यक्ष शेखर खवासले प्रेस क्लबले चाँड़ै एउटा राष्ट्रिय स्तरको मिडिया कन्केलभ आयोजना गर्ने योजना रहेको जानकारी गराए जसलाई राज्यपालले सराहना गरेका छन्। बातचितको क्रममा राज्यपालले प्रस क्लबलाई पत्रकारिताको क्षेत्रमा महिलाहरूलाई प्रोत्सहान गर्न एउटा छुट्टै पुरस्कार प्रदान गर्ने सुझाउ पनि दिए।

विभिन्न विषयमा भएको कुराकानीको क्रममा प्रेस क्लब अफ् सिक्किमले धेरै वर्ष अघि नै दुरदर्शन केन्द्र गान्तोकको निर्माण कार्य पूरा भएको र सबै पूर्वाधार तथा जनशक्ति भएर पनि पूर्णरुपले क्रियाशिल नभएको तथा नियमित रुपमा क्षेत्रीय समाचार प्रसारण नभइरहेको कुरा राज्यपाललाई अवगत गराए। यस सन्दर्भमा राज्यपालले आफ्नो कार्यालयबाट हुनसक्ने पहल गर्ने आश्वासन दिएका छन्।

About Author

Advertisement