पाल्जोर स्टेडियममा टेबल टेनिस प्रतियोगिताको तयारी

IMG-20250622-WA0113

गान्तोक: आगामी २८-२९ जूनको दिन राजधानीस्थित पाल्जोर स्टेडियममा टेबल टेनिस एसोसिएशन अफ् सिक्किम र सिक्किम भेटरेन्स टेबल टेनिस एसोसिएशनको पहलमा दुई दिवसीय सिक्किम भेटरेन्स टेबल टेनिस आयोजन गरिने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रका सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम भेटरेन्स टेबल टेनिस एसोशिएशनका अध्यक्ष बीबी सुब्बाले उक्त जानकारी गराए। उनले थप बताए अनुसार यस प्रतियोगिता केवल भेटरेन्सहरूको निम्ति मात्र नभएर १५ वर्ष भन्दा कम उमेरका किशोर र १७ वर्ष भन्दा कम उमेरका किशोरीहरूको निम्ति आयोजना गरिने छ। अध्यक्ष सुब्बाको भनाइअनुसार राज्यका युवाहरूलाई टेबल टेनिस खेलप्रति आकर्षित तुल्याउने उद्देश्यले गत केही वर्ष अघिदेखि तादोङमा एउटा एकादमी पनि शुरू गरिएको र हाल उक्त एकादमीमा तीन सयभन्दा अधिक युवाहरूले प्रशिक्षण लिइरहेका छन्। यो खेल सबैभन्दा सस्तो भएकोले गरीबका नानीहरूले पनि खेल्न सक्ने बताए। यस क्रममा कार्यकारिणी सदस्य केसाङ भोटियाले उक्त प्रतियोगिता शिक्षकहरूलाई लक्ष्य राखेर आयोजन गरिने बताइन्। यदि सबै विद्यालयका शिक्षकहरूले यस खेलप्रति चासो देखाए विद्यार्थीहरू प्रभावित बनेर यसलाई अँगाल्न सक्ने आयोजक समितिको मनसाय रहेको छ। यस अवसरमा भेटेरेन्स खेलाडी पीजे लामा र एसोसिएशनका उपाध्यक्ष सारिका प्रधानले पनि आफ्नो अनुभव साँझा गरेका थिए।

About Author

Advertisement