कोलकाता: एसएससी प्रकरणमा जमानत पाएपछि पूर्व शिक्षा मन्त्री पार्थ चटर्जी पुनः विधानसभा गतिविधिमा सक्रिय देखिएका छन्। हालै उनलाई विधानसभा अन्तर्गत दुई महत्वपूर्ण समितिको सदस्य बनाइएको छ। चटर्जीलाई पुस्तकालय समिति तथा आवास, अग्निशमन तथा आपतकालीन सेवा सम्बन्धी स्थायी समितिमा समावेश गरिएको हो।
विधानसभा स्रोतका अनुसार यो निर्णय हालै सम्पन्न प्रशासनिक पुनर्संरचनाको हिस्सा हो। यस निर्णयपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ, विशेषगरी आगामी चुनावलाई लिएर चर्चा चर्किएको छ।
पार्थ चटर्जी हाल राज्य सरकारमा मन्त्री छैनन्, तर निर्वाचित विधायकको हैसियतमा उनी आफ्नो पदमा कायम छन्। विधानसभा नियमअनुसार मन्त्रीहरू सामान्यतया स्थायी वा स्ट्यान्डिङ कमिटीका सदस्य हुँदैनन्। मन्त्री पदबाट हटेपछि मात्र उनलाई समितिमा समावेश गरिएको हो।
उल्लेखनीय छ, एसएससी भर्ती घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान निकायले पक्राउ गरेपछि राज्य सरकारले उनलाई मन्त्री पदबाट हटाएको थियो। त्यसपछि तृणमूल कांग्रेसले पनि उनलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।
पार्थ चटर्जीको ‘फर्काइ’ माथि शुभेन्दु अधिकारीको व्यंग्य:
पार्थ चटर्जीलाई विधानसभा स्थायी समितिमा समावेश गरिएपछि विपक्षी नेता शुभेन्दु अधिकारीले तीव्र व्यंग्य गरेका छन्। उनले तृणमूल कांग्रेसमा भ्रष्टाचारका आरोपी नेताहरूलाई पुरस्कार दिने परम्परा रहेको आरोप लगाए। अधिकारीले आगामी चुनावमा तृणमूल कांग्रेसले पार्थ चटर्जीलाई पुनः उम्मेदवार बनाउन सक्ने दाबी पनि गरे।
उनले हुमायूँ कबीरमार्फत अल्पसंख्यक मतदातालाई आकर्षित गर्ने तृणमूल कांग्रेसको रणनीतिमाथि समेत प्रश्न उठाएका छन्।










