गान्तोक: रोटरी क्लब अफ गान्तोक साउथले एक भव्य समारोहबीच नेसन बिल्डर अवार्ड कार्यक्रम आयोजन गऱ्यो। रोटरी क्लब अफ गान्तोक साउथले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम आयोजन गर्दै आएको छ। स्थानीय एक होटलमा आयोजित कार्यक्रममा पुरस्कार हस्तान्तरण गरेको हो। क्लबले सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको ८४औं जन्मजयन्तीको अवसरमा उक्त कार्यक्रम आयोजन गरेको हो। सिक्किमका ६ जिल्लाका १२ जना शिक्षकलाई राष्ट्र निर्माण पुरस्कार प्रदान गरियो। सहायक जिल्ला गभर्नर राजेश सोमानी प्रमुख अतिथिको रुपमा उपस्थित रहेको कार्यक्रममा रोटरी क्लब अफ गान्तोक साउथकी अध्यक्ष डा. सुजाता उपाध्यायले कार्यबारे प्रकास पारिन्। राज्यमा रोटरी क्लब अफ गान्तोक साउथको योगदानबारेमा जानकारी पनि दिइन्। क्लबको साक्षरता अध्यक्षको रूपमा सेवारत बीणा शर्माले दर्शकहरूलाई रोटरी इन्डिया साक्षरता मिशन र यसको राष्ट्र निर्माता पुरस्कारबारेमा जानकारी दिइन्। रोटरी क्लबले राज्यका शिक्षकहरूलाई नेसन बिल्डर अवार्डद्वारा सम्मानित गर्दै आएको र अहिलेसम्म एकसयभन्दा धेर शिक्षकलाई सम्मानित गरिसकेको जानकारी गराइन्। यस वर्ष क्लबले सुमिन माङथाङ जुनियर हाई स्कूलका शिक्षक बासुदेव घटराज. जोङगेथाङ प्राथमिक स्कूलका भीम पी दाहाल, लिङ्गी सरकारी सेकेण्डरी स्कूलका चुड़ामणि आचार्य, रांका राई गाउँ प्राथमिक स्कूलकी कमला गुरुङ, लिङथाम सरकारी जुनियर हाई स्कूल जङ्गुकी मार्कित लेप्चा, (सरकारी माध्यामिक विद्यालय, तल्लो सुमिनकी नन्दिता परियार, गाङग्याप स्कूलकी रेणु सुब्बा, थ्युकुङ मुन्सोलोङ सिनियर सेकेण्डरी स्कूलकी सञ्जिता राई, नामिन प्राथमिक विद्यालयका सरोन छेत्री, इन्छे सिनियर सेकम्डरी स्कूलका सोनु थापा र लिङदिङ जुनियर हाईआ स्कूलबाट सुजताका प्रधानले पुरस्कार ग्रहण गरिन्। सो अवसरमा पुरस्कार विजेताहरुले आफ्नो विचार व्यक्त गर्दै रोटरी क्लब अफ गान्तोक साउथलाई आभार व्यक्त गरेका थिए। प्रमुख अतिथि राजेश सोमानीले सबै विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रोटरी क्लबले जनमानसका लागि काम गरिरहेको उल्लेख गरे। उनले सिक्किमे समाजको सेवामा रोटरी क्लब अफ गान्तोक साउथले समर्पित भएर काम गरिहेको बताए। कार्यक्रममा पुरस्कार विजेता परिवार सदस्यहरुको पनि उपस्थिति रहेको थियो। क्लबले पाँच अक्टोबरको दिन विश्व शिक्षक दिवसका रुपमा मनाउने भएकाले शिक्षकहरुलाई पुरस्कार प्रदान गर्दै आएको हो।









