पाकिम हवाइअड्डाको सेवा सुचारू गर्ने माग गर्दै केन्द्रीय मन्त्रीहरूसँग सांसद सुब्बा्को भेट

IMG-20241126-WA0273

गान्तोक: निक्कै लामो समयदेखि ठप्प रहेको पाकिम हवाइअड्डाबाट हवाइ सेवा पुनः आरम्भ गर्नुपर्ने माग गर्दै लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीको राजीव गान्धी भवनमा केन्द्रीय नागरिक उड्डयन मन्त्री किनजारापू रोम मोहन र नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहलसँग भेट गरे। भेटवार्ताअवधि सांसद डा.सुब्बाले यथाशीघ्र पाकिम हवाइअड्डाबाट हवाइ सेवा शुरु गरिनपर्ने माग राखे। सिक्किम राज्यको एकमात्र हवाइअड्डा पाकिम ग्रीनफिल्ड एयरपोर्टले राज्यको पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका निभाउने भएकोले यसलाई यसरी लामो समयसम्म बन्द राखिनु नमिल्ने सांसद डा. सुब्बाले केन्द्रीय मन्त्रीहरूसमक्ष कुरा राखे। यसको साथै यसरी लामो समयसम्म हवाइअड्डा बन्द अवस्थामा रहँदा कतिपय नकरात्मक प्रभाव पर्ने पनि उनले थप बताए। विशेष गरेर आपतकालिन चिकित्सा सेवा र पर्यटन मौसममा हवाइअड्डा बन्द रहँदा सर्वसाधारणमा यसको सकरात्मक सन्‍देश नजाने सांसद सुब्बाले बताए। सांसद र मन्त्रीहरूबीच पाकिम हवाइअड्डा विषयमा भएको कुराकानीमा स्पाइस जेटले आगामी दिसम्बर महिनादेखि पाकिम र नयाँ दिल्ली बीच हवाइ सेवा आरम्भ गर्न सक्ने साथै इण्डिगो एयरलाइन्सले पनि कोलकाता र नयाँ दिल्लीदेखि पाकिमसम्मको सेवा शुरु गर्नसक्ने विषयमा चर्चा भएको सांसदको कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। यसको साथै खराब मौसमको समय वैकल्पिक अवतरणको निम्ति बागडोग्रा हवाइअड्डालाई प्रयोगमा ल्याउन सकिने साथै आधुनिक नेभिगेशन व्यवस्था जड़ान गरिनुपर्ने विषयमा पनि चर्चा भएको विज्ञप्तिमा थप उल्लेख गरिएको छ। सांसद सुब्बाको कुरा ध्यानपूर्वक सुनेपछि केन्द्रीय मन्त्रीहरूले यस विषयमा तत्काल आवश्यक पहल गर्ने आश्वासन दिएको सांसद कार्यालयबाट जानकारी गराइएको छ। यसको निम्ति सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रीय नागरिक उड्डयन मन्त्री अनि राज्यमन्त्री प्रति आभार व्यक्त गरेका छन्।

About Author

Advertisement