पाकिममा ३४औं नेपाली भाषा मान्यता दिवस पालन

IMG-20250820-WA0128

पाकिम: पाकिम जिल्लाको डिक्लिङ इलाइट पूर्व विद्यार्थी सङ्घको आयोजनमा आज पीएमश्री डिक्लिङ उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा ३४औँ नेपाली भाषा मान्यता दिवस कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको अध्यक्षता सेवानिवृत्त शिक्षक एसपी राईले गरेका थिए। यस कार्यक्रममा राज्य सरकारका शिक्षा, खेलकुद तथा युवा मामिला, कानून तथा संसदीय मामिला विभागका मन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए। मुख्य अतिथि मन्त्री बस्नेतले आफ्नो सम्बोधनको क्रममा भाषा सङ्ग्रामी सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी अनि पूर्व लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीको सम्झना गर्दै उनीहरूको योगदानले नै आज नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा स्थान पाएको बताए। सिक्किम बहुभाषी मानिसहरू बसोबासो भएको राज्य रहेको अनि यी सबै भाषालाई जगेडा गर्नुपर्ने मन्त्री बस्नेतले बताए। उनले भाषालाई जटिलताबाट सरलता तर्फ लैजानु पर्ने बताउँदै यसलाई व्यवहारमा ल्याउनु पर्ने विषयमाथि जोड दिए। सोही क्रममा अध्यक्ष राईले आफ्नो सम्बोधनमा भाषा सङ्ग्रामीहरुको योगदानलाई स्मरण गर्दै उनीहरूको योगदानले नै आज नेपाली भाषी भन्नमा सबैले गर्ववोध गर्ने अवसर प्राप्त गरेको बताए। भाषालाई संरक्षण गर्न सबैले नेपाली भाषा नै बोल्नु पर्ने तबमात्र भाषा अनन्तकालसम्म बाँचेर जाने सम्भावना व्यक्त गरे। यसरी नै साहित्यकार एवं लेखक कमल काफ्लेले नेपाली भाषा मान्यता विषयमा विश्लेषणात्मक वक्तव्य राख्दै नेपाली भाषा आन्दोलनको ऐतिहासिक पक्षमथि प्रकाश पारे। उनले वर्तमान नेपाली भाषाको अवस्था सोचनीय रहेको, बताउँदै सबैले नेपाली भाषालाई प्रयोगमा ल्याउनु पर्न आग्रह गरे। यसरी नै कार्यक्रममा कवि बीएन खतिवडा ‘अनुरागी’ द्वारा लिखित कविता सङ्ग्रह “पैतालाका डामहरू” को पनि विमोचन गरियो। कार्यक्रममा आयोजक समितिद्वारा विशिष्ट व्यक्तिहरुलाई प्रशंसा पत्रद्वारा सम्मानित गरियो। कार्यक्रमअन्तर्गत आबकारी विभागका अध्यक्ष, पूर्व विधायक एमप्रसाद दुलाल, पूर्व विद्यार्थी पवित्रा भण्डारी, ओएसडी विधायक नाम्चेबुङ्ग हरि रिजाल, वाणिज्य अनि उद्योग विभागीय अध्यक्ष निमछिकी शेर्पालाई पनि आयोजक समितिद्वारा सम्मान जनाइयो। यसरी नै वर्ष २०२४-२५ को सीबीएसई अनि आईसीएसई बोर्ड परीक्षामा नेपाली विषयमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई प्रशंसापत्रद्वारा सम्मान जनाइयो। यस अवसरमा अन्तर विद्यालय तत्कालीन वक्तव्य प्रतियोगिता, हाजिरीजबाफ प्रतियोगिता राखिएको थियो। साथै विद्यार्थीहरूद्वारा नेपाली, भोटिया अनि लेप्चा नृत्य पनि प्रस्तुत गरिएको थियो।

About Author

Advertisement