गान्ताेक: सिक्किमको पाकिम मा अवस्थित आईसीएआर–नेशनल रिसर्च सेन्टर फर अर्किड मा चार दिवसीय भारतीय अर्किड महोत्सव जारी छ। ‘सौन्दर्य र समृद्धिका लागि अर्किड’ विषयमा आयोजित यस महोत्सवको उद्देश्य अर्किड खेती र व्यावसायीकरणलाई प्रवर्द्धन गर्नु रहेको छ।
महोत्सवले क्षेत्रीय अर्किड विविधता प्रदर्शन गर्दै किसान र स्थानीय समुदायका लागि जीविकोपार्जनका अवसर बढाउने र अर्किडको विशाल सम्भावनाबारे जागरूकता सिर्जना गर्ने लक्ष्य राखेको छ।
महोत्सवको तेस्रो दिन मुख्य अतिथिका रूपमा उपस्थित आईसीआरआईएसएटीका महानिर्देशक डा. हिमांशु पाठक ले अर्किड शौकबाट उच्च मूल्यको व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने आर्थिक सम्भावनाबारे प्रकाश पारे। उनले संस्थाले गरेको कामको प्रशंसा गर्दै भारतीय कृषि अनुसन्धान परिषद् अन्तर्गतका साना संस्थाहरू मध्ये पनि राज्य सरकारको सहयोगमा यसले अर्किड अनुसन्धान र विकासमा प्रभावकारी गतिविधिहरू सञ्चालन गर्दै आएको बताए।
डा. पाठकले तीन प्रमुख स्तम्भ – अर्किड, जैविक, पेशा – वरिपरि केन्द्रित दृष्टिकोण प्रस्ताव गरे। उनले बताए कि यी तत्वहरूको एकीकरणले किसानहरूको जीविकोपार्जन बलियो बनाउन र राज्यको अर्थतन्त्र बढाउन सहयोग पुर्याउन सक्छ।
उहाँले अनुसन्धानलाई गति दिन र किसानहरूलाई रोगमुक्त, एकरूप रोपण सामग्री उत्पादनमा सक्षम बनाउन जीनोमिक उपकरण, टिस्यु कल्चर प्रविधि, सेन्सर र कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक विज्ञानको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे। साथै, क्लस्टर-आधारित वा सहकारी मोडेल मार्फत साना र सीमान्त किसानहरूलाई अर्किड खेतीमा एकीकृत गर्ने आवश्यकता पनि औँल्याए।
यसअघि अतिथिहरूले कार्यक्रम स्थल र अनुसन्धान केन्द्रको अर्किड नर्सरीको भ्रमण समेत गरेका थिए।










