मंग्पु: हिल टाइम्स अनलाइन न्युज च्यानल र सर्वनाम समूह मंग्पुको संयुक्त आयोजनामा आज मंग्पुमा पहिलो हिल टाइम्स साहसिक पुरस्कार अलंकरण समारोह सम्पन्न भएको छ। मंग्पुको सरस्वती उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रम सर्वनाम समूहको संयोजक सुरेन्द्र थिङको अध्यक्षता र दार्जिलिङ सदरको पुलिस सीआई भुषण छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सिन्कोना बगानको व्यवस्थापक गोपाल लामिछाने, मंग्पुको पुलिस आउट पोष्टको ओसी बिजय थामी, सरस्वती उच्चतर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला राई आदि उपस्थित रहेका थिए।

बिशोर कार्की र पुष्कर सिंगरद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण प्रमिला मुखियाले राखेकी थिइन्। यसै कार्यक्रममा पहिलो साहसिक पुरस्कार टिस्टा रंगीत रेस्क्यु टिमकी अध्यक्षा शान्ती राईलाई प्रदान गरियो। यस अवसरमा शान्ति राईलाई अतिथिहरूको बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर सम्मान गर्दै स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरी पुरस्कृत गरियो। उनलाई हिल टाइम्सको निर्देशक एंव पत्रकार केशर मोक्तानले रेस्क्युको लागि सुविधा होस् भनेर वकी टकी प्रदान गरिएको छ। शान्ति राईले विगत २००५ देखि लगातार रूपमा टिस्टामा दुर्घटना परेर नदीमा डुबेकाहरूलाई रेस्क्यु गर्ने कार्य गरिरहेकी छन्। सन् २०१९ मा टिस्टा रंगीत रेस्क्यु टिम गठन गरेर त्यसको अध्यक्षाको रूपमा कार्य गरिरहेकी छन्। शान्ति राईलाई ‘जल परी’, आईरन लेडी’ को उपाधि पनि दिइएको छ। यसै कार्यक्रममा विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना सम्मान पनि गरिएको छ। यस अवसरमा हेल्पिङ ह्याण्डकी दिपिका छेत्री, हुँ केयरका एरोन योञ्जन, मणिटस्टको रेशमा राई सिंह, विक रन फाउण्डेशनको बिक्रम राई, मंग्पु पुलिस आउट पोष्टको ओसी बिजय थामी, सिटोङ निवासी सामाजिक कार्यकर्ता बिक्रम राई, लाब्दा निवासी किरण पाख्रीन, बाँसुरी वादक हेमन्त थापालाई पनि सम्बर्ध्दना जनाइएको थियो। सम्बर्ध्दनमा सबैलाई खदार्पणसहित शल ओढ़ाएर सम्मान गर्दै स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरी सम्मान जनाइएको छ। यसै कार्यक्रममा पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो।

यस क्रममा मंग्पुका पुरानो पत्रकार जेपी छेत्रीलाई सम्मान जनाइएको थियो भने अन्य पत्रकारहरूमा दार्जिलिङको राजेस जोशी, सोनादाको किरण छेत्री, खरसाङको हनोक थापा, कालेबुङको उमेस परियार, मंग्पुको डीके वाईबा र राजेस थापा आदिलाई सम्मान जनाइएको थियो। यसै कार्यक्रममा हिल टाइम्सको परिवारलाई पनि एकै स्थानमा राखेर पहिलोपल्ट सम्मान गरिएको थियो। हिल टाइम्स अनलाइन न्युज च्यानलको सलिना रामुदामु, शुशिका थापा, सन्ध्या आचार्य, कृति थापा, करूण राई, बरूण राणा, सुरज शाह, पुष्कर सिंगर आदिलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा हिल टाइम्सको विषयमा र पहिलो हिल टाइम्स साहसिक पुरस्कार अलंकरण समारोह विषयमा हिल टाइम्सको निर्देशक केशर मोक्तानले बताएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित दार्जिलिङ सदर सीआई भुषण छेत्रीले आफ्नो सम्बोधनमा अाजको कार्यक्रम एकदम राम्रो रहेको बताउँदै सामाजिक कार्यमा रहेका विशिष्ठ व्यक्तिहरूलाई सम्मान जनाएकोमा आभार प्रकट गरे। उनले सामाजिक क्षेत्रमा बहुमूल्य योगदान दिने व्यक्तिहरू सम्मान पाउने योग्यका थिए भनी बताएका छन्। उनले पुलिस र सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरू सदैव मिलेर कार्य गर्ने बताएका छन्।










