पहाडकै पहिलो जिरो वेस्ट भिलेज राजाहट्टा
सोनादा: दार्जीलिङ पहाडकै पहिलो जिरो वेस्ट भिलेज तथा फोहोरमुक्त गाउँको रुपमा राजाहट्टा बस्तीलाई घोषणा गरिएको छ। आधिकारिक तौरमा नभए तापनि जिरो वेस्ट आन्दोलनको आरम्भ गरिएको दुई महिनामा पाएको सफलतापछि नै गैरसरकारी संस्था टिएडीले राजाहट्टा बस्तीलाई पहाडको पहिलो जिरो वेस्ट भिलेजको रुपमा घोषणा गरेको हो। राजाहट्टा अनि आठमाइलमा गरिएको दुई चरणको कार्यक्रमबीच राजाहट्टालाई जिरो वेस्ट भिलेजको रुपमा घोषणा गरियो। राष्ट्रिय राजमार्ग ५ स्थित एकतिर आठमाइलको सेल सेन्टरमा अनि अर्को आठमाइल खोला छेउमा राजाहट्टा गाउँ जाने दुइतिरैको बाटो मुखमा निर्माण गरिएको गेटको उदघाटन जीटीएका नवनिर्वाचित सभासद तथा चेयरम्यानका दावेदार तथा भागोप्रमो सुप्रिमो अनित थापाको बाहुलीद्वारा गरियो। उनीसित यस कार्यक्रममा मङपू- लाब्दा समष्टिका नवनिर्वाचित सभासद रतन थापा पनि सामेल थिए। जिरो वेस्ट भिलेजको उदघाटन गरेपछि निर्वाचित सभासद अनित थापाले प्रथमतः राजाहट्टावासीलाई शुभकामना दिए। उनले अघि भने, राजाहट्टा एउटा सानो गाउँ हो। तर यस्ता सानो-सानो गाउँ सफा भए मात्र पहाड सफा हुन्छ। यसबारे अघिबाटै कुरा हुँदै आएको हो। टिएडीले धेरै वर्षदेखि प्लास्टिकमुक्त तथा फोहोरमुक्त पहाडको सोच लिएर काम गर्दै आइरहेको छ। यसका लागि टिएडीले योगदान पनि दिँदै आइरहेको छ। पहाड सफा राख्नु हो भने राजाहट्टासरह पहाडका सबै गाउँहरु अघि आउनुपर्छ। यस योजनालाई प्रत्येक गाउँमा पुर्याउनु पर्छ। सबैको सहयोगले नै पहाड सफा हुनसक्छ। पहाडमा धेरै चुनौतीहरु छ। फोहोर व्यवस्थापनको चुनौती पनि एक हो। टिएडीको यस योजनामा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक सबैले सहयोग पुर्याउनु पर्छ। सबै मिलेर पहाडलाई सफा बनाउनु पर्छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार गरिएको जिरो वेस्ट भिलेजको उदघाटन कार्यक्रमको पहिलो चरणको कार्यक्रम राजाहट्टा बस्तीमा आयोजन गरियो।राजाहट्टाको सिरानमास्थित ओल्ड मिलिटेरी रोडदेखि गाउँ पस्ने वारी र पारी दुइवटै गाउँको मूलबाटोको मुखमा निर्माण गरिएको दुइवटा गेटको उदघाटन सिञ्चेल वाइल्ड लाइभ डिभिजन सोनादा बीटका बीट अधिकारी रचना प्रधान अनि अप्पर सोनादा ग्राम पञ्चायतका कर्मचारी राजु विश्वकर्माको बाहुलीद्वारा गरियो। यस कार्यक्रममा अन्य अतिथिहरुका रुपमा सन्त तेरेजा विद्यालयकी शिक्षिका कम्लेस राई, प्रकृति प्रधान लगायत गैरसरकारी संस्था टिएडीका प्रमुख उत्सव प्रधान लगायत स्वयंसेवी अनि केही पर्यटकहरु पनि उपस्थित थिए। राजाहट्टावासीलाई लिएर आयोजित कार्यक्रममा उत्सव प्रधानले जिरो वेस्ट आन्दोलन र पहिलो जिरो वेस्ट भिलेजको रुपमा राजाहट्टा बस्तीलाई चयन गर्नुको औचित्यबारे विस्तारमा जानकारी गराए। कार्यक्रममा शिक्षिका तथा पर्यावरणप्रेमी शिक्षिका कम्लेस राईले पनि प्लास्टिकमुक्त अभियानमा जुटेयता सामना गर्नु परिरहेको अनुभव पोखिन् भने गाउँवासीको पक्षबाट प्रताप राई अनि विमल राईले धन्यवाद ज्ञापन गरे। सोही कार्यक्रमबीच स्थानीय वृद्धा शोभा तामाङले वर्षौँयता गाउँलाई सफा राख्नलाई दिँदै आइरहेको योगदानका निम्ति सम्मान जनाइयो साथै उनलाई दार्जीलिङ्गे बोजुको उपाधि पनि दिइयो। यसैगरी प्रायः दुई महिनायता फोहोर संकलन कार्यमा लगातार जुटिरहेका टिएडी स्वयंसेवीहरुलाई पनि सम्मान जनाइयो। कार्यक्रममा गाउँवासीलाई टिएडीद्वारा उत्पादित उपयोगी तर प्लास्टिकमुक्त सामाग्रीहरु पनि वितरण गरियो भने आठमाइलस्थित टिएडी होमस्टेमा आयोजित कार्यक्रममा आठमाइल बजारका व्यापारीहरुसित अतिथि अनित थापाको छोटो अन्तर्क्रियात्मक कार्यक्रम पनि गरिएको थियो।









