“विधान सभामा पढेको विधायक पठाउने कि अनपढ विधायक: अनित थापा
दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चका अध्यक्ष तथा दार्जीलिङ पहाडका प्रमुख नेता अनित थापाले दार्जीलिङस्थित महाकाल बाबा धामबाट दार्जीलिङका मतदाताहरूलाई सम्बोधन गर्दै आगामी विधानसभा चुनावमा शिक्षित र दक्ष उम्मेदवारलाई मत दिन आह्वान गरेका छन्। थापाले भने, “यो चुनाव बंगाललाई पहाडले एउटा स्पष्ट सन्देश दिने अवसर हो कि पहाडको जनताले शिक्षित र दक्षता भएको व्यक्तिको नेतृत्व चाहन्छ।”
उनले चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न होस् भन्ने कामना गर्दै पहाडमा विगतमा आफ्नो नेतृत्वमा ल्याइएको शान्तिको उपलब्धिलाई उजागर गरे। उनका अनुसार पहाड अहिले शान्तिपश्चात् समृद्धिको बाटोमा अगाडि बढिरहेको छ। पहिले शहर र बजारमा मात्र सीमित रहेको समृद्धि अब कमान र बस्तीस्तरसम्म पुग्न थालेको उनको भनाइ छ। रोजगारीको प्रश्नमा थापाले नकारात्मक मानसिकतालाई समस्याको मूल कारण ठहर्याउँदै भने कि पहाडमा रोजगारका पर्याप्त अवसर विद्यमान छन्, जसको प्रमाण बाहिरका मानिसहरू यहाँ आएर काम गर्दछन् भन्ने तथ्यले नै दिन्छ। उम्मेदवारको विषयमा बोल्दै थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रत्याशी विजयकुमार राईको प्रशंसा गर्दै भने, राई एक शिक्षित व्यक्तित्व हुन् र उनको पूरै परिवार नै शिक्षित छ। उनले थपे, मतदाताले उम्मेदवारको प्रोफाइल, विश्वसनीयता र योग्यता हेरेर मतदान गर्नुपर्छ।

थापाले यो पनि जोड दिए, विधानसभामा पुग्ने विधायकको शैक्षिक योग्यताले पश्चिम बंगाल सरकारमा पहाडप्रतिको धारणा निर्माण गर्ने भएकाले यो चुनाव विशेष महत्त्वपूर्ण छ। अर्कोतिर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार विजय कुमार राईले भने, “अहिले पहाडमा शान्ति छाएको छ र यो शान्तिलाई स्थायी रूपमा कायम राख्न सक्षम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी मात्र हो।”









