युवा संगीतकार अंकिता छेत्रीले हालैमा जर्मनीको ऐतिहासिक लिच्छनबर्ग कासलमा आयोजित एथ्नो जर्मनी २०२४ मा भारतलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएर आफ्नो सांगीतिक यात्रा सम्पन्न गरेकी छिन्। यो १० दिनको लोक संगीतिक कार्यक्रम १५ अगस्तदेखि २५ अगस्तसम्म चल्यो। यस कार्यक्रममा विश्वभरिका विभिन्न देशहरूबाट संगीतकारहरू सहभागी भएका थिए जसमा विश्वस्थापी लोक, परम्परागत र संस्कृतिक संगीतको पुनरुत्थानको उत्सव मनाइएको थियो। `एथ्नो´ जिउनेसिस म्युजिकल्स इन्टरनेसनलको प्रमुख कार्यक्रम हो जसले सन् १९९० देखि सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै आएको छ। ४० भन्दा बढी देशहरूबाट सहभागी भई यस कार्यक्रमले युवा संगीतकारहरूको सम्पदा जोगाउने र प्रवर्धन गर्ने उद्देश्य राखेको छ।

दार्जीलिङमा जन्मेकी र हुर्केकी अंकिताले आफ्नो सांगीतिक प्रेरणाको स्रोत आफ्नो जन्मस्थललाई मान्छिन्। उनी भन्छिन्, ‘दार्जीलिङ विगतकालदेखि नै सृजनशीलताको केन्द्रविन्दु बनेको छ। जुन ठाउँलाई अरुणा लामा, कुमार सुब्बा, गोपाल योन्जन जस्ता संगीतका महान विभूतिहरूले गौरवान्वित तुल्याएका छन्। सानैदेखि संगीत, नृत्यकला र साहित्यको धनी वातावरणमा हुर्किएकोले होला मलाई संगीत तथा गायन क्षेत्रमा औधी नै रुचि थियो।‘ अंकिताको सांगीतिक यात्रा सानै उमेरमा शुरु भएको हो, जहाँ उनले इशाई जगतका धेरै सुसमाचारीय गायन प्रतियोगिताहरूमा सबैभन्दा सानो प्रतियोगीको रूपमा भाग लिने गर्थिन् जसले गर्दा उनको गीत एवं संगीतप्रतिको रुचि अझै प्रगाढ बन्दै गयो। उनले मर्चुङ्गा, गिटार, बङ्गो र कहोन जस्ता सांगीतिक यन्त्रहरु स्व-प्रयासमा नै सिकेर बजाउन थालिन्।
उनी भन्छिन्, ‘मैले औपचारिक तालिमको लागि म्युजिक कलेज जाने मौका पाइन तर म सर्वशक्तिमान ईश्वरप्रति धेरै धन्यवादी छु कि वहाँले मलाई मेरो संगीतप्रतिको लगावमा कहिले कमी आउन दिनुभएन साथै मलाई निरन्तर आन्तरिक प्रोत्साहन एवं मार्गदर्शन गर्नुभयो। कतिपय समयहरुमा मैले शिक्षा अनि संगीतलाई सन्तुलित रुपमा अघि बढाउन धेरै चुनौतीहरूको सामना गर्नु परेता पनि मेरो परिवारको प्रेरणा साथै उत्साहले गर्दा आज म यस क्षेत्रमा यसरी अघि बढ्न पाइरहेकी छु। म आफैंलाई धेरै भाग्यमानी ठान्छु अनि मेरो प्रिय बाजे, लोकप्रसाद छेत्री एवं बोजु निना छेत्री साथै अन्य परिवारजनहरूलाई आन्तरिक हृदयबाट धन्यवाद भन्न चाहन्छुl’ उनले आफ्नो श्रदेय गुरुहरू श्री शिलास फिपन, श्री जीवन प्रधान, श्री रुद्रमणि विश्वकर्म र प्रोफेसर्स जस्टिन मेकार्थी, अचिन्त्या प्रहलाद अनि माधवन सोमनाथन प्रति आफ्नो कृतज्ञता व्यक्त गरेकी छिन् जसले उनको यहाँसम्मको सांगीतिक यात्रामा अन्नऔपचारिक रुपमा नै भएतापनि धेरै टेवा पुर्याएका छन्।
नेपाली संगीतको क्षेत्रमा उनलाई प्रभाव पार्ने व्यक्तित्वहरूमध्ये- मास्टर मित्रसेन थापा, अरुणा लामा, विपुल छेत्री, आनि छोइङ आर सबैभन्दा बढी महत्त्वपूर्ण दार्जीलिङमा गाउने गाइने दाजुहरू समावेश छन्। आफ्नो प्रारम्भिक शिक्षा दार्जीलिङको ज्ञानोदय निकेतन अनि लोरेटो कन्भेन्ट स्कूलबाट सिध्याएर दिल्लीको सेन्ट स्टिफन्स कलेज अनि अशोका विश्वविद्यालयबाट स्नातक भएकी छेत्रीले कलेजको अकापेला टोली (जसमा मानिसको स्वरले गिटार, ड्रम्स आदिको धुनहरू निकालिन्छ) ‘साउन्ड मशिन’को अध्यक्षको रुपमा पनि काम गरिन्। जसले उनलाई संगीतको विभिन्न ध्वनिहरुलाई अझ नजिकबाट बुझ्ने प्रेरणा मिल्यो जसको फलस्वरूप उनले यसैमा आधारित एउटा पाठ्यक्रम तयार पारिन् अनि अशोका विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर को रूपमा गायन शैलीलाई सिकाउने मौका पाइन्।

एथ्नो जर्मनीमा फ्रान्स, बेल्जियम, अर्जेन्टिना, स्पेन, कङ्गो, चिली लगायत विभिन्न देशहरूबाट आफ्नो सांगीतिक धुन अनि गीतहरूको प्रस्तुति हुँदा विश्वभरिका ध्वनिहरूको अद्भुत मिलन भएको भान हुन्थ्यो।अंकिताले आफ्नो मातृभाषामा नेपाली लोकगीत ‘रेशम फिरिरी’ सिकाएर सबैलाई नेपाली सांस्कृतिक धुनसित परिचित गराउँदै उनीहरूलाई एउटै सूत्रमा जोड्न पाउनु एक अति नै विशेष एवं गौरवमय क्षण थियो। ‘संगीतले भाषाको साँध-सिमाना पार गर्दछ। फ्रान्सदेखि अल्जेरियासम्मका संगीतकारहरूले यो नेपाली धुन गुनगुनाइरहेको देख्दा संगीतको अकाट्य शक्ति महसुस गर्ने मौका पाएँ’, उनी भन्छिन्।
त्यस कार्यक्रममा उनले अन्य एथ्नो सहभागीहरूसँग मिलेर जर्मनीमा विभिन्न कन्सर्टहरूमा प्रस्तुति दिइन् जहाँ उनले गीतको साथै भारत एवं आफ्नो जन्मस्थलको परिचय दिइन्। उनी भन्छिन्, ‘अन्तिम कन्सर्ट अघि मेरो सहपाठीहरूलाई स्मृति चिन्ह स्वरूप हाम्रो परम्परागत खदार्पण गर्दै उनीहरुमाझ हाम्रो पहाडको न्यानोपन औ दार्जीलिङको सांस्कृतिक सौन्दर्यलाई बाँट्न सक्षम बनेकोमा म धेरै खुशी छु।‘ पूर्वीय पहाडी भेगको लोक संगीतिक धरोहरलाई प्रवर्धन र संरक्षण गर्न हेतु अंकिताले एथ्निक कर्डज www.ethnicchords.com नामक वेबसाइट स्थापना गरेकी छिन्। एथ्नो जर्मनीले अंकिताको सांगीतिक हिँडाइमा गहिरो प्रभाव पार्नको साथै नवीन ऊर्जा प्रदान गरेको छ, त्यहाँबाट उनले धेरै नौलो एवं सृजनशील अनुभवहरू बटुलेर फर्केकी छिन्। हाम्रा स्थानीय युवा संगीतकारहरुलाई उनी भन्न चाहन्छिन्, ‘आफ्ना सपनाहरुलाई स्याहार सुसार गर्नुहोस् यो एउटा बिउ सरह हो जसलाई उम्रन समय लाग्छ तर सठीक हेरचाह, धैर्यता एवं लगनशीलताको जलमल पाए त्यसले कुनै पनि चुनौतीको सामना गर्दै फष्टाउने छ।‘









