कोलकाता: आज पश्चिम बङ्गाल विधानसभामा उचित गरिमा र भव्यताका साथ ‘पश्चिम बङ्गाल दिवस’ मनाइएको छ। यस विशेष समारोहमा राज्यका माननीय मन्त्रीहरू, विधायकहरू र विधानसभाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सन् १९४७ जुन २० का दिन अविभाजित बङ्गालको व्यवस्थापिका संसद् (कानुन सभा) मा आयोजित ऐतिहासिक बैठकमा पश्चिमी क्षेत्रका प्रतिनिधिहरूले बङ्गालको विभाजन र भारतसँग जोडिएर छुट्टै ‘पश्चिम बङ्गाल प्रान्त’ गठन गर्ने पक्षमा मतदान गरेका थिए। सोही ऐतिहासिक निर्णयको सम्झनामा हरेक वर्ष २० जुनका दिन पश्चिम बङ्गाल दिवस मनाउने गरिन्छ। बङ्गाली भाषा, संस्कृति, सम्पदा र लोकतान्त्रिक चेतनालाई सम्मान गर्दै यो विशेष दिन बङ्गालको गौरव र आत्मपरिचयको प्रतीक बनेको छ।
आजको यस महत्त्वपूर्ण अवसरमा राज्यको समृद्धि, सद्भाव र समग्र विकासको सङ्कल्प गर्दै सम्पूर्ण नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।











