सिलगढी: पश्चिम बङ्गाल अधिवक्ता परिषद्को नयाँ समिति गठनका लागि राज्यका अन्य भागहरूसँगै सोमबार सिलगढी अदालत परिसरमा पनि मतदान प्रक्रिया सुरु भएको छ। मतदान दुई दिनसम्म जारी रहनेछ।
यस वर्ष निर्वाचनमा कूल ७५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सिलगढी अधिवक्ता सङ्घबाट पाँच जना उम्मेदवार मैदानमा उत्रिएका छन्। तीमध्ये काँग्रेस, भारतीय जनता पार्टी, तृणमूल काँग्रेस, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) समर्थित प्रतिनिधिहरू तथा एक स्वतन्त्र उम्मेदवार रहेका छन्।
सिलगढी अधिवक्ता सङ्घबाट तृणमूल काँग्रेस समर्थित अरुण कुमार सरकार, भारतीय जनता पार्टी समर्थित नन्तु पाल, काँग्रेस समर्थित अलोकेश चक्रवर्ती, तथा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) समर्थित कल्याण साहा र सुब्रत सरकारले आफ्नो भाग्य परीक्षण गरिरहेका छन्।
मतदानको पहिलो दिन सिलगढी नगर निगमका महापौर गौतम देव र उपमहापौर रञ्जन सरकारले पनि मतदान गरेका थिए।
सिलगढी अधिवक्ता सङ्घका पूर्व सचिव अलोक धाराले बताएअनुसार यो निर्वाचन सम्पूर्ण पश्चिम बङ्गाल अधिवक्ता परिषद्का लागि भइरहेको हो र यस प्रक्रियाबाट परिषद्को नयाँ समिति गठन हुनेछ।
उनका अनुसार निर्वाचनमा कूल ७५ जना उम्मेदवार रहेका छन्, जसबाट २३ जना उम्मेदवार निर्वाचित हुनेछन्। यही २३ जना निर्वाचित सदस्यहरूले मिलेर नयाँ समिति गठन गर्नेछन्।
उनले थप जानकारी दिँदै भने कि यस निर्वाचनमा मतदान व्यक्तिगत आधारमा हुने गर्दछ, कुनै पनि दलको चिन्हका आधारमा होइन। सिलगढी अधिवक्ता परिषद्बाट पाँच जना सदस्य यस निर्वाचनमा प्रतिस्पर्धामा रहेका छन्।
सिलगढी अधिवक्ता परिषद्मा करिब २ हजार ९ सय मतदाता रहेका छन्। मतगणना सम्पन्न भएपछि विजयी उम्मेदवारहरूको घोषणा गरिनेछ र त्यसपछि निर्वाचित सदस्यहरूले नयाँ समिति गठन गर्नेछन्।
यसैबीच महापौर गौतम देवले आफूले पनि पश्चिम बङ्गाल अधिवक्ता परिषद्को निर्वाचनमा मतदान गरेको बताएका छन्। उनले आफू सिलगढी अधिवक्ता परिषद्का सदस्य पनि भएको जानकारी दिएका छन्।










