काेलकाता: पश्चिम बंगालमा भाजपाका शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै राज्यको राजनीतिक समीकरण फेरिएको छ। तीन पटकसम्म शासन चलाएको तृणमूल कांग्रेस सत्ताबाट बाहिरिएपछि सांसद अभिषेक बनर्जीले चुनाव र गणना प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। बनर्जीले सामाजिक सञ्जालमा लेख्दै भारत निर्वाचन आयोगको भूमिका पक्षपाती रहेको र चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाएका छन्। उनले करिब ३० लाख वास्तविक मतदातालाई नामावलीबाट हटाइएको र इभीएम मेसिनको ओसारपसार तथा कन्ट्रोल युनिटमा देखिएको गडबडीले जनताको वास्तविक फैसलामाथि शङ्का उब्जाएको बताएका छन्। उनले पारदर्शिताका लागि मतगणना केन्द्रको सीसीटीभी फुटेज सार्वजनिक गर्न र वीभीप्याट स्लिपको पुन: गणना गर्न माग गरेका छन्।
बनर्जीले चुनावपछिको हिंसालाई लोकतन्त्रमा अस्वीकार्य भन्दै आफ्नो पार्टीका कार्यकर्ता र समर्थकहरूमाथि भइरहेको आक्रमण र धम्कीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले कुनै पनि कार्यकर्ताले आफ्नो सुरक्षा र राजनीतिक विचारमध्ये एउटा रोज्नुपर्ने बाध्यता हुनु दुखद रहेको उल्लेख गर्दै ममता बनर्जीको नेतृत्वमा आफूहरू दिल्ली र बंगाल दुवै ठाउँमा सशक्त र सम्झौताहीन विपक्षको रूपमा रहने स्पष्ट पारेका छन्। २९४ सिटको विधानसभामा भाजपाले २०७ सिट जितेर बहुमत प्राप्त गर्दा टीएमसी ८० सिटमा खुम्चिएको छ।










