काठमाडौँ: पशुपतिनाथ मन्दिर परिसरमा एक हिन्दू साधु र क्रिस्चियन धर्म प्रचारक (मिसनरी) भनिएका विदेशी युवाहरूबीच भएको बहसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। गत साता खिचिएको भनिएको उक्त भिडियोमा धर्म परिवर्तनको प्रयास भइरहेको दाबी गरिए पनि साधुले धाराप्रवाह अंग्रेजीमा जवाफ फर्काउँदै उनीहरूको प्रस्ताव अस्वीकार गरेको देखिन्छ।
सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक भिडियोमा पश्चिमी मुलुकबाट आएका पर्यटकजस्ता देखिने ती युवाहरूले सत्य र आस्थाको विषय उठाउँदै बाइबलको ‘यूहन्ना ३:१६’ को सन्दर्भ उल्लेख गर्छन्। जवाफमा साधुले आफू पहिले नै सत्यको मार्गमा हिँडिरहेको र सत्यबारे जानकार रहेको बताउँदै उनीहरूबाट केही सिक्न आवश्यक नरहेको स्पष्ट पार्छन्।
बहसका क्रममा ती साधुले आफू विगतमा बेलायतमा व्यवसायी रहेको र विश्वको व्यापार तथा राजनीतिबारे जानकार रहेको उल्लेख गर्दै पश्चिमा मुलुकहरूको आलोचनासमेत गरेका छन्। भिडियोको अन्त्यतिर ती युवाहरू त्यहाँबाट निस्कने क्रममा साधुसँग हात मिलाउन खोज्छन्, तर साधुले हात मिलाउन अस्वीकार गर्छन्।
नेपालको प्रचलित कानुनअनुसार कसैको धर्म परिवर्तन गराउने वा त्यसका लागि दुरुत्साहन गर्ने कार्य दण्डनीय अपराध मानिन्छ। संवेदनशील धार्मिक स्थल पशुपतिनाथ क्षेत्रभित्रै यस्तो गतिविधि भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चासो र प्रतिक्रिया व्यक्त गरिरहेका छन्।





