​पर्यावरण पर्व २०२६ अन्तर्गत बीएसी पाखामा सरसफाइ अभियान सम्पन्न

40be6f4b-5ff7-4f76-becd-e0add4a1cb02

पाक्योङ: सिक्किम राज्यभरि सञ्चालन भइरहेको पर्यावरण पर्व २०२६ को एक हिस्साको रूपमा आज वन तथा वातावरण विभाग अन्तर्गतको पाक्योङ प्रादेशिक डिभिजनद्वारा ब्लक प्रशासनिक केन्द्र (बीएसी) पाखामा एक बृहत् सरसफाइ अभियान आयोजना गरिएको छ। “हरियो विरासत छोडौँ” (लीभ अ ग्रीन लेगेसी) भन्ने मूल नाराका साथ जुलाइ १ देखि १४ सम्म १४ दिनसम्म चल्ने यस वातावरणीय अभियानको मुख्य उद्देश्य प्रकृतिको संरक्षण गर्नु, दिगो जीवनशैलीलाई बढावा दिनु र हरियो भोलिको लागि सामूहिक कार्यलाई प्रेरित गर्नु रहेको छ।
​कार्यक्रमको अवधिमा प्रादेशिक वन अधिकारी (डीएफओ) श्री एसपी भोटियाले पर्यावरण पर्व २०२६ को अवसरमा शुभकामना व्यक्त गर्दै यो अभियान मुख्यमन्त्रीको मार्गदर्शनमा सञ्चालन भइरहेको र सिक्किम यस्तो समर्पित वातावरणीय अभियान मनाउने देशकै एक मात्र राज्य भएको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनको बढ्दो प्रभाव र यसका कारण मौसमी चक्रमा आएको परिवर्तन, चराचुरुङ्गीको बसाइँसराइमा परेको बाधा तथा वन्यजन्तु र सूक्ष्मजीवहरूमाथि बढेको खतराप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब वातावरण संरक्षण एक आवश्यकता बनिसकेको बताउनुभयो। आगामी पुस्ताका लागि प्राकृतिक स्रोतसाधनको जगेर्ना गर्न सबैलाई एकजुट भएर काम गर्न उहाँले आह्वान गर्नुभयो।
​यस अभियान अन्तर्गत आगामी जुलाइ ७ तारिखलाई “धरती माताका लागि एक दिन” (अ डे फर मदर अर्थ) को रूपमा मनाइने जानकारी दिँदै डिभिजनल वन अधिकारीले उक्त दिन बिहान ११:०० देखि ११:०७ बजेसम्म राज्यभरका सवारी साधनहरू रोकिने र नागरिकहरूलाई वातावरण संरक्षणमा सामूहिक योगदान पुर्‍याउन ती सात मिनेटमा बिरुवा रोप्न र तिनको हेरचाह गर्न प्रोत्साहित गरिने बताउनुभयो। यसका साथै उहाँले वन विभागको महत्वाकांक्षी कार्यक्रम “मेरो रुख मेरो सन्तति” (एमआरएमएस) को चर्चा गर्दै यसले विश्वव्यापी मान्यता पाएको र यस योजना अन्तर्गत सरकारी तथा गैरसरकारी लाभार्थीहरूका साथै जुम्ल्याहा बालबालिकाका लागि विशेष व्यवस्थाहरू रहेकाले योग्य नागरिकहरूलाई दर्ता हुन आग्रह गर्नुभयो। नागरिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्न र सरसफाइ वातावरण संरक्षणको एक अभिन्न अङ्ग हो भन्ने सन्देश दिन यो सरसफाइ अभियान आयोजना गरिएको उहाँले प्रस्ट पार्नुभयो।
​कार्यक्रमलाई सम्बोधन गर्दै पाखाका ब्लक विकास अधिकारी (बीडीयो) श्री केवल शर्माले प्राकृतिक स्रोतको संरक्षण र वरपरको वातावरणलाई सफा राख्नुपर्ने आवश्यकतामा जोड दिँदै पर्यावरण पर्वको उद्देश्यलाई सफल पार्न सबैलाई सक्रिय योगदान दिन आग्रह गर्नुभयो। उक्त सरसफाइ अभियानमा बीएसी पाखा परिसरभित्र विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरूले सामूहिक रूपमा सरसफाइ गरेका थिए। कार्यक्रममा बीएसी पाखाका सहायक इन्जिनियर श्री राजकुमार निरौला, शिक्षा विभागका एईओ श्री पीएस भोटिया, विभिन्न विभागका कर्मचारीहरू तथा माचोङ र बारापाथिङ रेन्जका वन अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

About Author

Advertisement