गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमलाई उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा अर्को महत्वपूर्ण कदम चाल्दै गान्तोकमा पाँच–तारे होटल ‘हयात रिजेन्सी गान्तोक’ को शिलान्यास गरेका छन्।
राजधानी गान्तोकस्थित चिन्तन भवनमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री तामाङले उक्त परियोजनालाई राज्यको आर्थिक रूपान्तरण र रोजगारी सिर्जनासँग जोडिएको महत्वपूर्ण पहलका रूपमा वर्णन गरे। उनका अनुसार १५० कोठाको यो होटल सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना हुनेछ।
उनले भने, “यो शिलान्यास विश्वास, साझेदारी र उज्ज्वल भविष्यको प्रतीक हो। हामी सबै मिलेर हाम्रो सुन्दर हिमाली राज्य सिक्किमलाई समृद्ध बनाउने दिशामा अघि बढिरहेका छौं।”
मुख्यमन्त्रीले परियोजनाले कृषि, सेवा, यातायात, हस्तकला तथा सांस्कृतिक पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। स्थानीय उत्पादन र सेवाको उपयोग बढेर आपूर्ति शृङ्खला सुदृढ हुने अपेक्षा गरिएको छ।
बढ्दो पर्यटक आगमन
मुख्यमन्त्री तामाङका अनुसार सन् २०२५ मा गान्तोकमा १७ लाखभन्दा बढी पर्यटक आगमन भएको छ, जसमा ७१ हजारभन्दा बढी विदेशी पर्यटक समावेश छन्। उनले सिक्किममा आगन्तुकको सङ्ख्या राज्यको जनसंख्याभन्दा दोब्बर पुगेको उल्लेख गर्दै यसले सिक्किम लोकप्रिय गन्तव्य बन्दै गएको संकेत गर्ने बताए।
हाल राज्यमा दैनिक करिब ४२ देखि ४५ हजार पर्यटकलाई आतिथ्य गर्ने क्षमता रहेको जनाइएको छ। प्रस्तावित पूर्वाधार विस्तारले घरेलु तथा अन्तरराष्ट्रिय पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
दिगो र समावेशी विकासमा जोड
मुख्यमन्त्रीले नयाँ होटलले सिक्किमको मौलिक संस्कृति, स्थानीय कला र खानाको प्रवर्द्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै स्थानीय युवालाई रोजगारी र सीप विकासका अवसर प्रदान गरिने बताए।

सरकारले उच्च–गुणस्तरको पूर्वाधारमा जिम्मेवार निजी लगानी आकर्षित गर्दै गान्तोकको अन्तरराष्ट्रिय पहिचान सुदृढ बनाउने र दिगो, समावेशी तथा भविष्य उन्मुख पर्यटन–नेतृत्व विकासलाई प्राथमिकता दिएको उनले स्पष्ट पारे।









