परि प्रकाशनको पहलमा दई दिवसीय साहित्यिक महोत्सवकाे आयोजना

IMG-20240920-WA0295

गान्तोक: सोरेङ आधारित परी प्रकाशनले आज जर्नलिस्ट युनियन अफ सिक्किमको कार्यालयमा एउटा पत्रकार सम्मेलन आयोजना गरेर आगामी ३० सेप्टेम्बर र १ अक्टोबरका दिन दुई दिवसीय साहित्यिक महोत्सव भव्यरुपमा आयोजना गर्ने जानकारी गराएको छ।
प्रकाशनले आजसम्म महकुमा स्तरीय तथा राज्य स्तरीय साहित्यिक कार्यक्रम गर्दै आएको थियो भने यसपाली अन्तरराष्ट्रिय स्तरको साहित्यिक महोत्सव आयोजना गर्न लागिरहेको जानकारी प्रकाशनका अध्यक्ष सीपी शर्माले दिए।
उनले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म परी प्रकाशनले राज्यका विभिन्न सर्जकहरुका २० वटा कृति प्रकाशित गरिसकेको र धेरै प्रकाशोन्मुख रहेको जानकारी दिए। उनले साहित्यिक महोत्सवबारे जानकारी दिँदै यो महोत्सव सोरेङको जौटारमा भव्यताका साथ आयोजना गरिने पूर्व योजना रहेको, तर प्रतिकूल मौसमलाई ध्यानमा राख्दै तथा राज्यका मुख्यमन्त्री एवं परी प्रकाशनका प्रमुख संरक्षक प्रेमसिंह तामाङको सुझाउ र निर्देशनमा यो दुई दिवसीय कार्यक्रम गान्तोकको मनन केन्द्रमा सम्पन्न गरिने जानकारी दिए।
दुई दिवसीय कार्यक्रमको पहिलो दिनमा राष्ट्रिय साथै अन्तरराष्ट्रिय स्तरका साहित्यिक व्यक्तित्वहरुका साथमा प्यानल चर्चा एवं अनान्य कार्यक्रम रहनेछ भने दोस्रो दिनको कार्यक्रममा सामूहिक कविता वाचन तथा पुस्तक लोकार्पणको कार्यक्रम रहने उनले जानकारी दिए। परी प्रकाशनले यसपालीदेखि परी पुरस्कार प्रदान गर्ने निर्णय लिएको अवगत गराउँदै सो पुरस्कार एकजना नारी सर्जक र एकजना पुरुष सर्जकलाई प्रदान गर्ने बताए।
उनले यसपालि पुरस्कार चयनका निम्ति आएका ५३ पुस्तकमध्ये ज्युरीले नारी सर्जक डाक्टर गीता निरौलालाई उनको समालोचनात्मक कृति ‘कश्यपका महाकाव्य’ का निम्ति तथा पुरुष सर्जकबाट लेखक भीम ठटाललाई उनको कविता संग्रह ‘अभिव्यक्तिको सत्ता’ का ​निम्ति परी पुरस्कार प्रदान गर्ने जानकारी गराए। पुरस्कारको रुपमा स्मृति चिन्ह, प्रशस्ति पत्र, अंगवस्त्र तथा ६१,००० नगद राशि प्रदान गरिने पनि उनले थप जानकारी दिए।
यस दुई दिनकै कार्यक्रममा राज्यका मुख्यमन्त्री एवं परी प्रकाशनका प्रमुख संरक्षकको उपस्थिति रहने उनले जानकारी दिए। आजको पत्रकार सम्मेलन मार्फत उनले राज्यभरिका साहित्य अनुरागीहरुलाई यस दुई दिवसीय भव्य साहित्यिक महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएका छन्।
पत्रकार सम्मेलनमा परी प्रकाशनका महासचिव हेमन्त थापा साथै सम्पादक डाक्टर रतन रसाइलीको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement