६ सेप्टेम्बरः कहिले असाधारण ब्याटिंग गरे पनि कहिले-काहीँ नचाहिँदो शट् खेलेर टीम र आफ्ना प्रशंसकहरूलाई निराश बनाउने रिषभ पन्त फेरि एकपल्ट आलोचनाको शिकार बनेका छन्। वसीम अकरम, गौतम गम्भीर र रवि शास्त्री जस्ता पूर्व क्रिकेटरहरूले भारतीय टीमका यस विकेटकीपर ब्याटरको शट् चयनलाई लिएर प्रश्न उठाएका छन्। आइतवार पाकिस्तान विरुद्ध म्याचमा पनि विकेटमा सेट भएपछि पन्त नचाहिँदो रिभर्स स्वीप खेल्ने प्रयासमा आउट भएका थिए। यसैकारण म्याचमा भारत ५ विकेटले पराजित भएको थियो। म्याचमा आउट भएर ड्रेसिंग रूममा फर्किएपछि कप्तान रोहित शर्माले पनि पन्तसँग शट् खेल्ने कारण सोधेका थिए। यसको भीडियो पनि सोशल मीडियामा भायरल भएको छ।
म्याच समाप्त भएपछि पूर्व भारतीय क्रिकेटर गम्भीरले पन्त आउट हुने तरिकामाथि निराशा व्यक्त गरे। उनले भने, रिषभ पन्त आफै पनि निराश होलान् कारण यो उनको शट् होइन। उनी लंग अन् या डीप मिड विकेटमा शट् खेल्न मन पराउँछन्। त्यस बललाई त्यो क्षेत्रमा पनि हिट गर्न सकिन्थ्यो। उनले आफ्नो ताकतको उल्टा शट् खेलेर विकेट गुमाए। रिभर्स स्वीप पन्तको ताकत होइन। अकरमले पनि गम्भीरको कुरामा सहमति जनाए। उनले भने, खेलको त्यस चरणमा त्यस प्रकारको शट् खेल्ने कुनै आवश्यकता नै थिएन। उनले टेस्ट क्रिकेटमा यस्तो शट् खेल्छन् भन्ने मलाई थाहा छ। उनी विश्व स्तरमा शीर्ष खेलाड़ीहरूमा सामेल छन् तर खेलको यस्तो चरणमा रिभर्स स्वीप खेल्ने कुनै आवश्यकता थिएन।
भारतका पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीले भने, पन्तले रोहित, राहुल र कोहलीले खेलिरहेको शट्हरूबाट कुनै शिक्षा लिएनन्। उनीहरू सबैले जमीनमा शट् खेलिरहेका थिए। भी-मा शट् खेलिरहेका थिए। पीच एकदमै राम्रो थियो। ग्राउण्ड्सम्यानलाई सलाम छ कारण बल राम्ररी ब्याटमा आइरहेको थियो। पन्तमा कुनै पनि बललाई बाउण्ड्रीमा परिणत गर्ने क्षमता छ। उनी असल ब्याटर हुन् तर शट्को चयनलाई लिएर उनी सामान्य सतर्क रहनु पर्नेछ। अनावश्यक शट् खेलेर आउट हुनु उनलाई शोभा दिँदैन।











