गान्तोक: प्रेस क्लब अफ सिक्किमद्वारा आयोजित तीन दिवसीय पत्रकारितासम्बन्धी प्रशिक्षण आज सम्पन्न भयो। राज्यका 37 जना पत्रकारहरूले सहभागिता जनाएको प्रशिक्षण पाकिम जिल्लाको आसमलिङ्जेस्थित सिक्किम सहकारी संघको सम्मेलन कक्षमा आयोजन गरिएको थियो। समापन कार्यक्रममा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। समापन सत्रलाई सम्बोधन गर्दै सांसद सुब्बाले पत्रकार सशक्तिकरणतर्फ सरकार अघि बढेको बताए। पत्रकार राजनीतिज्ञको लेखा परीक्षक भएको उल्लेख गर्दै उनले आज डिजिटल युगमा जनता गलत सूचनाको शिकार भइरहेकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए। “लोकतन्त्रको चौथो स्तम्भ बलियो हुनुपर्ने कुरामा सांसद सुब्बाले जोर दिए। डिजिटल माध्यमबाट मात्र सूचना प्राप्त गर्छौं तर पूरा समाचारका लागि भोलिको पत्रिकाको पर्खाइमा बस्छौं भन्दै पत्रकार स्वतन्त्र भएर काम गरे त्यति नै खुसी हुने उल्लेख गरे। उनले पत्रकारहरुलाई प्रभावकारी रुपमा कार्य गर्न सशक्त बन्ने सल्लाह दिए। कार्यक्रमको अन्तिम दिनमा सिक्किम राज्य महिला आयोगका सदस्य सचिव युसा लाचेन्पाले महिला र बालबालिका सम्बन्धी मुद्दाहरूमा रिपोर्टिङ सत्र सञ्चालन गरिन्। दोस्रो सत्रमा पश्चिम बंगालका पूर्व विधायक तथा पत्रकार हर्कबहादुर क्षेत्रीले नेपाली भाषामा पत्रकारिताको महत्व र डिजिटल मिडियामा भाषाको प्रयोग विषय सत्र सञ्चालन गरेका थिए। तेस्रो सत्रमा समिट टाइम्स पत्रिकाका सम्पादक पेमा वाङचुकले पत्रकारिताको भूमिका विषय सत्र सञ्चालन गरेका थिए। त्यसपछि पेमा वाङ्चुक, हर्कबहादुर छेत्री, समिट टाइम्सका प्रकाशक पूरण तामाङ र ओडिशाका भारतीय जनसञ्चार संस्थानका क्षेत्रीय निर्देशक डा. मृणाल चटर्जी बीच प्यानल छलफल भएको थियो। कार्यक्रममा सिकोन अध्यक्ष मङ्गलजीत राई र आईपीआर सचिव अन्नपूर्ण आलेको पनि विशेष उपस्थिति रहेको थियो।










