
२ नोभेम्बर १९९३ देखि मेरो पत्रकारिताको क्षेत्रमा प्रवेश भयो। पत्रकारिताको क्षेत्रमा मेरो थालनी सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिक समाचार पत्र ‘सुनचरी’बाट भयो। मैले त्यस समय डा. कुमार प्रधान सर अनि सी. के.श्रेष्ठ सरको कुशल देखरेखमा पत्रकारिता आरम्भ गर्ने अवसर प्राप्त गरें। वर्तमानमा डा. कुमार प्रधान सर हुनुहुन्न। तर, उहाँको निधन भएपनि पत्रकारिताको क्षेत्रमा मप्रति उहाँको ठूलो देन छ, जो कदापि म बाँचुञ्जेल भूल्न सक्दिनँ। पत्रकारिताको क्षेत्रमा प्रवेश गरेपछि त्यस समय सीमित साधनमा समाचारहरू संग्रह गरेर सिलगढी कार्यालयसम्म पुर्याउन हम्मे-हम्मे पर्दथ्यो। टेलिफ़ोन, मोबाइल फोन अनि फ्याक्स मशीनको अभावमा समाचार लेखेर अनि प्याकेट बनाएर सिलगढीबाट दिनहुँ आउने माछा अनि सब्जी बिक्रेताहरूको हातमा प्रत्येक दिन बेलुकी सिलगढी कार्यालयसम्म पुर्याउन पर्दथ्यो। अबेर राति कुनै घटना घटेमा समाचार पठाउन गाह्रो थियो। त्यस समाचारलाई भोलिपल्ट पठाउन पर्दथ्यो।
‘न्यूजको प्याकेट पठाएपछि कहिले काहिँ ढ़ीलो भएकोले न्यूजको प्याकेट लगेर जानेहरूले कार्यालयमा न्यूजको प्याकेट भोलिपल्ट पुर्याइदिन्थे। फलस्वरूप अति जरूरी खबरहरू पनि एकदिनपछि प्रकाशित हुने गर्दथ्यो‘
कहिले काहिँ खरसाङबाट समाचार लगेर जानेहरू खरसाङ नआएको खण्डमा सिलगढी जाने वाहन मार्फत चालकलाई सम्झाएर समाचारको प्याकेट पठाउन पर्दथ्यो। त्यस समय न्यूज लेख्न भन्दा साह्रो काम खरसाङ मोटर स्ट्याण्डमा उभिएर न्यूज पठाउने हुन्थ्यो। कहिले काहिँ यसको निम्ति स्ट्याण्डमा दुई दुई घण्टासम्म उभिन पर्दथ्यो। खरसाङबाट न्यूजको प्याकेट पठाएपछि कहिले काहिँ ढ़ीलो भएकोले न्यूजको प्याकेट लगेर जानेहरूले कार्यालयमा न्यूजको प्याकेट भोलिपल्ट पुर्याइदिन्थे। फलस्वरूप अति जरूरी खबरहरू पनि एकदिनपछि प्रकाशित हुने गर्दथ्यो। विगतका दिनहरूमा मैले न्यूज पठाउँदा यसरी विविध समस्याहरूको सामना गर्न पर्दथ्यो। यसपछि फ्याक्स मशीनको साधन उपलब्ध भएपछि यस मशीनद्वारा न्यूज पठाउन आरम्भ गरियो। यो सुविधा उपलब्ध भएपछि न्यूज पठाउन धेरै सुविधा हुन पुग्यो। तर, कहिले काहिँ पठाइएको रिपोर्टमा ‘ओके’ देखाए पनि कार्यालयमा सादा पन्ना मात्र निस्किन्थ्यो। कार्यालयबाट यसबारे फोन आएपछि पुनः त्यस पेजलाई पठाएर कन्फर्म गर्ने कार्य गरिन्थ्यो। टेलिफोन अनि मोबाइल फोनको साधन उपलब्ध भएपछि न्यूज पठाउन अझ थप सुविधा प्राप्त भयो। अहिले त मोबाइल फोन मार्फतनै न्यूज कम्पोज्ड् गर्न अनि सम्बन्धित न्यूजको फोटो पनि सजिलैसित पठाउन सकिन्छ।
विगतका दिनहरूमा सम्बन्धित न्यूजको फोटो पठाउन पनि साह्रो पर्दथ्यो। ब्ल्याक अनि ह्वाइटको जमानामा स्टूडियोमा एउटा फोटो तयार गर्नको निम्ति तीन-चारवटा फोटोको रील नष्ट हुँदथ्यो। वर्तमानमा भने यस्तो अवस्था छैन्। अहिले न्यूज पठाउनका निम्ति सबै कार्यहरू मोबाइल फोन मार्फत नै सजिलैसित गर्न सकिन्छ। पत्रकारिताको क्षेत्रमा उहिले अनि अहिलेको व्यवस्थाहरूमा निकै परिवर्तन भएकोले अहिले पत्रकारिता गर्नमा धेरै सजिलो भएर गएको छ, यो भन्नमा शायद कुनै अत्युक्ति नहोला। (लेखक दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार हुनुहुन्छ)










