कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी आगामी महिना बिहारको राजधानी पटनामा आयोजना भइरहेको विपक्षको महाबैठकमा सामेल हुनसक्नेछन्। तृणमूल कंग्रेसको सूत्रले सोमवार यस आशयको जानकारी गरायो। बिहारका मुख्यमन्त्री नीतीश कुमारको पार्टी जद (यू)-को बैठकबाट प्राप्त संकेत अनुसार भाजपा विरोधी पार्टीहरूको बहुप्रतीक्षित बैठक आगामी १२ जूनको दिन पटनामा आयोजना हुनसक्छ। तृणमूलका एक वरिष्ठ नेताले बताए, आगामी महिना बिहारमा हुने विपक्षी दलहरूको बैठकमा ममता ब्यनर्जी सामेल हुने सम्भावना छ।
उल्लेखनीय छ कि गत केही दिनअघि बंगाल दौड़ाहमा आएका नीतीश कुमारसितको भेटमा ममता ब्यनर्जीले पटनामा विपक्षी नेताहरूको बैठक आयोजना गर्ने प्रस्ताव दिएकी थिइन्। ममता ब्यनर्जीले भनेकी थिइन्, जयप्रकाश नारायणले पनि आफ्नो आन्दोलनको शुरूआत बिहारबाटै गरेका थिए र वर्तमान भाजपा सरकार विरोधी आन्दोलन पनि पटनाबाटै शुरू हुनुपर्छ। यसै महिनाको आरम्भमा कर्णाटक चुनाउमा कंग्रेसले जित दर्ता गराएपछि ममता ब्यनर्जीले भनेकी थिइन्, तृणमूलले आगामी वर्ष २०२४ -को लोकसभा चुनाउमा ती राज्यहरूमा गैरभाजपा पार्टीहरूलाई समर्थन गर्नेछ जहाँ उनीहरू मजबुत छन्। उल्लेख्य, गत वर्षको अगस्त महिनामा भाजपा नेतृत्वाधिन एनडीएसित सम्बन्ध विच्छेद गरेपछि नीतीश कुमार विपक्षलाई एकजुट बनाउने कोशिशमा लागिपरेका छन्।
-हिस









