मंग्पु: आगामी पञ्चायत चुनावलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको अध्यक्षतामा आज मंगपु चौरास्ता सार्वजनिक भवनमा एउटा महत्वपूर्ण बैठक बस्यो। बैठकमा पार्टीका सभासदहरू अनि केन्द्रीय समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। जानकारी अनुसार बैठकमा आगामी 8 जुलाईको दिन हुने पञ्चायत चुनाव नै मुख्य विषय रहेको थियो। बैठकपछि अनित थापाले पत्रकारहरूसितको कुराकानीमा भने, “हामीले हाम्रो चुनावको घोषणा पत्रमा नै भनेका थियौं कि पञ्चायती व्यवस्था फर्काएर ल्याउनेछौं। अहिले पहाडमा पञ्चायती व्यवस्था फर्केर आएको छ। यो ब्यवस्था कसले फर्काएर ल्यायो अनि कसरी ल्यायो त्यो सर्वविदित कुरा हो। पहाडको निम्ति खुसीको कुरा हो कि बीजीपिएमले गुमाएको व्यवस्था फर्काएर ल्याएको छ। पञ्चायत चुनावमा बीजीपिएम पार्टीले नै जीत हाँसिल गर्नेछ।”

तृणमूल कांग्रेससंग गठबंधन गरेर चुनाव लड्ने भन्ने प्रश्नमा उनले भने, ” यो चुनाव गाउँको चुनाव हो। चुनावको रणनीति तयार भएपछि मात्र हामी गठबंधन विषय तय गर्नेछौ।”
विपक्षीलाई कस्तो किसिमले लिनु भएको छ भनी प्रश्न गर्दा उनले भने, “राजनैतिक दलको आ-आफ्नै रणनिती हुन्छ। चुनाव हो, प्रतिस्पर्धा त हुन्छ नै। तर बीजीपिएमले नै पञ्चायत चुनाव जित्नेछ।”










