स्कूलको बिल्डिङ बनियो हल बनिएन
टीआरआई समाचार
खरसाङ: विद्यार्थीहरुलाई सही मार्गदर्शनको लागि आमाबाबु महत्वपूर्ण माध्यम होl स्कूलमा आफ्ना छोराछोरीले कस्तो पढ्दै छन्, के गर्दैछन्, कोसित कता जाँदैछन्, फोन कति चलाउँदैछन्, फोनमा के कस्ता हेर्दैछन् यी सबैको बारेमा आमाबाबुले प्रत्यक्ष-अप्रत्यक्ष निगरानी राख्न अति आवश्यक छl नानीहरुलाई आमाबाबुहरुले कसरी सकारात्मक रुपमा बुझाउनु पर्ने हो, यस्तै विषयलाई लिएर पंखाबारी हायर सेकेण्डरी स्कूलको आयोजनामा शुक्रबार लङ्भ्यूको भेलाकूप् सार्वजनिक हलमा ‘एजुकेशनल अवेरनेस प्रोग्राम’ सम्पन्न भयोl स्कूलकी प्रधानाध्यापिका कल्पना प्रधानको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा शिक्षा साथै यससित जोडिएका सामाजिक विषयहरु बारेमा चर्चा गरियोl यो कार्यक्रम विद्यार्थीहरुका आमाबाबुहरुलाई लिएर सम्पन्न भएको थियोl

यस कार्यक्रममा दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रकी टीएम मेम्बर देवीमाया प्रधान तामाङ, गैर सरकारी संस्था कञ्चनजङ्घा उद्धार केन्द्रका कार्यकर्ता, गाडीधुरा पुलिस आउट पोस्टका ओसी सदन कुमार झा विशेष रुपमा उपस्थित थिएl स्कूलकी शिक्षिका मुन्नु लामाद्वारा संचालित यस सचेतना कार्यक्रममा आमाबाबुहरुले स्कूल आउने आफ्ना विद्यार्थी नानीहरुको शिक्षा साथै अन्य गतिविधिहरुमा प्रमुखताका साथ ध्यान दिनुपर्ने बारेमा प्रधानाध्यापिका कल्पना प्रधानले बताइन्l शिक्षिका सुष्मा प्रधानले वर्तमान समयमा बालबालिकाहरुमा भित्रिएका विसङ्गतिहरुका बारेमा जानकारी दिँदै यसबाट आफ्ना नानीहरुलाई जोगाउनु पर्ने बारेमा आमाबाबुहरूलाई बताइन्l चाइल्डलाइन खरसाङ उप केन्द्रकी टीएम मेम्बर देवीमाया प्रधान तामाङले भारत सरकारको महिला अनि बाल विकास मन्त्रालयको परियोजना चाइल्डलाइनले नानीहरुलाई पुर्याउने सहयोगहरु बारेमा बताइन्l हाल समाजमा भित्रिन थालेको विकृति बाल विवाह सबैका लागि घातक रहेको बारेमा जानकारी दिइन्l यसका साथै चाइल्डलाइनको चौबीसै घण्टा सक्रिय रहने नि:शुल्क राष्ट्रिय टेलिफोन परिसेवा १०९८ को बारेमा पनि विस्तृत रुपमा जानकारी दिइन्l बाल विवाह कानुनी अपराध रहेको साथै यसमा हुने कानुनी कारबाही अनि बाल विवाहबाट पर्ने नकरात्मक असर बारेमा कञ्चनजङ्घा उद्धार केन्द्रका कार्यकर्ताले बताएl
गाडीधुराका पुलिस आउट पोस्टका ओसी सदन कुमार झले बढ्दो ड्रग्सको समस्या बारेमा सबैलाई सतर्क गराएl ड्रग्स सेवन गर्ने र बिक्री गर्नेलाई बेग्ला बेग्लै किसिमले कारबाही गर्ने उनले बताएl ड्रग्स सेवन गर्नेलाई परामर्श दिएर दुर्व्यसनमुक्त बनाउन पुनर्वास केन्द्रमा उपचारको लागि पठाउने उनले बताएl दुर्व्यसनमुक्त बनाउनका लागि अभिभावकहरु सचेत हुनुपर्ने आहवान उनले गरेl यसका साथै मोबाइल फोनमा मानिसहरुलाई ठग्नका लागि ठगहरुले विभिन्न किसिमले फोन गर्ने गरेको बारेमा सबैलाई यसबाट सतर्क रहने सुझाव दिएlस्कूलका शिक्षक सुबोध लामाले ‘कन्याश्री’को योजना बारेमा विशेष जानकारी दिएl
शौचालय र हलको समस्या
अहिलेको समयमा सबैको आकर्षण अंग्रेजी माध्यमका निजी स्कूलहरु बनेका छन्l यसले गर्दा प्राय:जस्ता सरकारी स्कूलहरुमा विद्यार्थीहरुको संख्या घट्दै गइरहेको छl तर पंखाबारी हायर सेकेण्डरी स्कूल करिब एक हजार विद्यार्थीहरुलाई लिएर संचालन भइरहेको छl शिक्षाको गुणस्तरका कारण आज स्कूलहरुको प्रतिस्पर्धामा पंखाबारी हायर सेकेण्डरी स्कूल एक हजार विद्यार्थीहरुलाई शिक्षा दिन सक्षम भइरहेको छl स्कूलले विद्यार्थीहरुका विभिन्न प्रतिभा विकासका लागि हाजिरी जवाब, आवृति प्रतियोगिता, खेलकुद, वार्षिक कार्यक्रम आयोजना गर्ने गरेको छl स्कूलको वार्षिक कार्यक्रम जसमा विद्यार्थीहरुद्वारा विभिन्न रंगारंग कार्यक्रमहरु प्रस्तुत गरिन्छl तर सबै कार्यक्रमहरु गर्नु पर्दा करिब डेढ किलोमिटर मुनि लङ्भ्यूको केराबारीस्थित भेलाकूप सार्वजनिक हलमा आयोजना गर्नुपर्छl केही समय अघि स्कूलको नयाँ बिल्डिंग बनियो तर हल भने बनिएनl एउटा स्कूलका लागि कर्यक्रम गर्ने हल अति आवश्यक होl विद्यार्थीहरुका लागि हल भनेको एउटा विशेष मंच होl जुन मंच उनीहरुका भावी जीवनमा ठूला मंचहरुमा उडान भर्नका लागि एउटा सशक्त घडेरी होl यो विद्यार्थीहरुले पाउनु पर्ने बाल अधिकारभित्रको विषय होl अर्को यस स्कूलमा शौचालयको समस्या रहेको छl शौचालयको समस्या हुँदा यहाँ विद्यार्थी साथै शिक्षकहरुलाई समस्या भएको छl विद्यार्थीहरुले राम्रो शौचालयको व्यवस्था पाउनु पनि बाल अधिकारभित्रको विषय होl यस्तो व्यवस्था नहुनु भनेको उनीहरु बाल अधिकारबाट वन्चित हुनु होl यो समस्या समाधान गर्ने दायित्व शिक्षा विभाग र जीटीएको होl हजार विद्यार्थीहरुको भविष्य निर्माण गर्ने पंखाबारी हायर सेकेण्डरी स्कूलको संरक्षणको लागि प्रशासनिक, सामाजिक, राजनैतिक सबै पक्षको सक्रियता आवश्यक छl










