न्यायमूर्ति ए. मुहम्मद मुस्ताकले सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशको शपथ ग्रहण गरे

FB_IMG_1767540851789

गान्तोक: न्यायमूर्ति ए. मुहम्मद मुस्ताकले सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राजधानी गान्तोकस्थित लोक भवनमा सोमबार आयोजित विशेष समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले उनलाई शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम विधानसभा सभामुख एम.एन. शेर्पा, उपसभामुख राजकुमारी थापा, सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई तथा न्यायमूर्ति भाष्कर राज प्रधानसहित मन्त्री, विधायक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसअघि सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले न्यायमूर्ति मुस्ताकको नियुक्तिसम्बन्धी अधिसूचना तथा वारन्ट पढेर सुनाएका थिए। शपथ ग्रहण समारोहको समापनपछि राज्यपाल, मुख्यमन्त्री तथा अन्य अतिथिहरूले नवनियुक्त मुख्य न्यायाधीशलाई परम्परागत रूपमा खादा अर्पण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
केरला उच्च न्यायालयका न्यायाधीश रहिसकेका न्यायमूर्ति मुहम्मद मुस्ताकले आजैदेखि सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। उनले निवर्तमान मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरको स्थान लिएका हुन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले शपथ ग्रहण समारोहमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत नवनियुक्त मुख्य न्यायाधीश मुस्ताकलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

About Author

Advertisement