गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले नेपाली साहित्य परिषद् सिक्किम(नेसापसि)का अध्यक्षका रूपमा लगातार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हरि ढुङ्गेललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। साथै मुख्यमन्त्रीले ढुंङ्गेलको पुनर्निर्वाचन परिषद्का सदस्यहरूले उनको नेतृत्वप्रति व्यक्त गरेको आस्था, विश्वास र भरोसाको स्पष्ट प्रमाण हो भने, साथै सिक्किम राज्यको साहित्यिक समुदायप्रति ढुंङ्गेलले पुर्याएको समर्पित सेवाको उच्च मूल्याङ्कन पनि यहि हो भने।
यसैगरी संजाल मार्फत मुख्यमन्त्रीले उपाध्यक्षद्वय श्रीमती रत्न लुक्सोम सुब्बा र नीलम न्यौपानेलाई, महासचिवका रूपमा निर्वाचित भएका भीम रावतलाई, कोषाध्यक्षका रूपमा निर्वाचित भएको जी. एस. सुब्बालाई तथा नव निर्वाचित सबै सचिवहरू, पदाधिकारीहरू र कार्यसमिति सदस्यहरूलाई पनि हार्दिक बधाई ज्ञापन गरे भने मुख्यमन्त्रीले उनिहरूलाई प्राप्त सामूहिक जनादेशले सिक्किममा नेपाली साहित्य र संस्कृतिलाई अझ सुदृढ, समृद्ध र सशक्त बनाउने साझा प्रतिबद्धता तथा नयाँ उद्देश्यबोध झल्काएको कुरा उल्लेख गरे।
मुख्यमन्त्रीले अघि भने, नेपाली साहित्य परिषद्ले सिक्किम राज्यको समृद्ध साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र संवर्द्धनमा सधैँ अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। श्री ढुङ्गेलद्वारा प्रस्तुत अनुवाद अभियान विस्तार गर्ने, लोकसाहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने, र विद्यार्थी तथा युवावर्गलाई साहित्यिक गतिविधिमा सक्रिय रूपमा संलग्न गराउने दृष्टिकोण समयसापेक्ष र दूरदर्शी छ। यस्ता पहलहरूले विभिन्न समुदायसम्म हाम्रो साहित्यको पहुँच विस्तार गर्नेछन भने हाम्रो परम्परा पुस्तौँसम्म जीवन्त, गतिशील र सान्दर्भिक रहिरहने सुनिश्चित गर्नेछन्।
उल्लेखित छ मुख्यमन्त्रीले श्री ढुङ्गेल र उनको समर्पित टोलीको नव नेतृत्वमा परिषद्ले निरन्तर उन्नति गर्दै सिक्किमभर साहित्य, संस्कृति र सिर्जनशील अभिव्यक्तिको प्रवर्द्धनमा अर्थपूर्ण प्रगति गर्नेछ भनि आफु विश्वस्त भए।
मुख्यमन्त्रीले निर्वाचन प्रक्रियामा सहभागी हुनुभएका सम्पूर्ण सदस्यहरूप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरे। साथै उनिहरूको अमूल्य सहभागिताले सम्पूर्ण प्रक्रिया साँच्चिकै लोकतान्त्रिक, भव्य र अर्थपूर्ण बनेको छ भने। मुख्यमन्त्रीले सिक्किम राज्यको साहित्यिक आन्दोलनप्रति देखाएको उत्साह, जोश र अटल समर्पणका लागि सबैमा हार्दिक शुभकामना र मंगलकामना व्यक्त गरे।
अन्तमा मुख्यमन्त्रीले सिक्किम सरकार सिक्किमभरिका साहित्यिक, सांस्कृतिक, सामाजिक, परोपकारी तथा सिर्जनात्मक संघ-संस्थाहरूलाई सधैँ साथ र सहयोग प्रदान गर्न दृढ प्रतिबद्ध रहेको जनाए। साथै सिक्किम राज्यलाई सांस्कृतिक रूपमा समृद्ध, बौद्धिक रूपमा जीवन्त र सिर्जनशीलताले भरिपूर्ण बनाउने प्रत्येक सिर्जनात्मक समूहलाई सिक्किम सरकारले निरन्तर प्रोत्साहन र उन्नयन गर्दै जाने उल्लेख गरे।










