नेसापले पालन गऱ्यो देवकोटा जयन्ती

IMG-20241112-WA0296

गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती समारोह भव्यताकासाथ पालन गऱ्यो। नेपाली साहित्य परिषद, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको यस जन्मजयन्ती समारोहमा दीप प्रज्ज्वलनकासाथ कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा सर्वप्रथम महाकविको तस्वीरमा माल्यार्पण गरिए पश्चात महाकविको काव्यकृतिबाट सुश्री रञ्जना कार्कीले ‘शुन्यतामा शुन्यसरी बिलाएँ’ नामक कविता वाचन गरेकी थिइन। कार्यक्रममा महाकविको व्यक्तित्व एवम् कृतित्वमाथि वार्तासँगै कवि गोष्ठी साथै साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यसमा महाकविको व्यक्तित्व एवं कृतित्वमाथि प्रबुद्ध साहित्यकार श्री प्रवीण राई जुमेलीले “हामी कसैले पनि देवकोटालाई समग्र रूपमा आजपर्यन्त बुझ्ने सकेका छैनौ।” हामी ज-जसले जति देवकोटालाई बुझेका छौँ त्यतिले मात्र देवकोटालाई बुझेर पुग्दैन। देवकोटाले सबै विधामा कलम चलाएर नेपाली साहित्य ऋणी तुल्याउनु भएको छ। प्रकृतिसँग सधैँ रमाउने देवकोटाको विलक्षण काव्यिक क्षमतालाई हामीले नमम गर्नु पर्छ भन्ने विचार प्रकट गरे। यसरी नै कविता वाचनको क्रममा भवानी घिमिरे सिक्किमे, रञ्जना कार्की, राधा पाण्डे, नवीन लामीछाने, बिमला लुइँटेल आदिले कविताहरू वाचन गरेर उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध तुल्याए। परिषदकी कार्यकारिणी सदस्य उषा शर्माद्वारा सञ्चालित यस कार्यक्रमको अन्त्यमा परिषदका अध्यक्ष श्री हरि ढुङ्गेलले ‘हाम्रा विभूतिहरूको जन्मजयन्ती अङ्ग्रेजी क्यालेण्डरकै आधारमा पालन हुँदै आएकोले क्यालेण्डर अनुरूप महाकविको जन्मजयन्ती १२ नोभेम्बरमा पर्ने भएको हुँदा यस वर्षदेखि यसै दिनलाई आधार मानेर महाकविको जन्मजयन्तीलाई पालन गर्ने परिषदले निर्णय लिएको बताए। उनले थप जानकारी गराए अनुसार १९५२ तिर देवकोटा सिक्किम आएका थिए र देवकोटाले टेकेको सिक्किमेली भूमि भाषा साहित्यको क्षेत्रमा उर्वर बनेको उल्लेख गरे। यहाँ ठेलीका ठेली पुस्तक तथा पत्र-पत्रिकाहरू धमाधम प्रकाशन भइरहेका छन्। यो भाषा साहित्यको विकासमा एउटा शुभ लक्षण हो भन्ने मन्तव्य व्यक्त गरे। देवकोटाले नेपाली साहित्यलाई लगाएको गुण हामीले जन्मजयन्ती मनाएर मात्र होइन तर उहाँद्वारा सृजित काव्यकृति तथा रचनाहरूमाथि संगोष्ठीहरू आयोजन गरेर उहाँका विचार-चिन्तनलाई जीवनमा उतार्नु सक्यौँ भने उनीप्रतिको साँचो श्रद्धाञ्जली अर्थपूर्ण हुनेछ भन्ने विचार प्रकट गरे।

About Author

Advertisement