नेभाविमको नेपाली कोश निर्माण स्थाननामबारे प्रशिक्षण र कार्यशाला

सिलगढी: भारतका प्रमुख भाषामध्ये नेपाली पनि पर्ने हुनाले यसमा धेरै प्राविधिक कार्य हुनुपर्ने आवश्यकता बोध गरेर गत वर्ष ७ नोभेम्बर २०२२-का दिन अखिल भारतीय नेपाली भाषा संगोष्ठी गुवाहाटीमा राखिएको थियो। उक्त संगोष्ठीमा भारतमा नेपाली भाषालाई प्रोन्नत गर्ने अभिप्रायले ‘नेपाली भाषा विकास मञ्च’ नाममा एउटा राष्ट्रिय संस्था गठन गरिएको थियो। यस राष्ट्रिय संस्थाले नेपाली भाषामा विश्वकोश (एन्साइक्लोपेडिया), मानक नेपाली शब्दकोश अनि पारिभाषिक शब्दावली निर्माण गर्ने लक्ष्य राखेको छ। यो महत् कार्य हुनाले खण्ड-खण्ड गरी काम गर्दैजाने योजना बनाएको छ। यसका लागि सिलगढीमा यही ४ र ५ मार्च २०२३-मा एउटा सभा राखी भारतबाट संस्थागत नेपाली शब्दकोश र स्थाननामकोश (टोपोनिमी) निर्माण गर्नाका लागि एउटा प्रशिक्षण कार्यशाला आयोजन हुन गइरहेको थाहा लागेको छ। सभामा नेपालका केही विद्वान्‌हरूद्वारा प्रशिक्षण दिनेछन्। यस दुई दिने संगोष्ठी कार्यशाला नेपाली भाषा विकास मञ्च र विश्वेश्वरप्रसाद कोइराला फाउन्डेसनको सहकार्यमा हुने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। यस प्रशिक्षण कार्यशालामा भारतका विभिन्न प्रान्त तथा कलेज विश्वविद्यालयबाट शिक्षक तथा शोधार्थी विद्यार्थीको सहभागिता रहने बताइएको छ।

About Author

Advertisement