बुटवल। पुलिसले रुपन्देहीको एउटा कल सेन्टरमा छापा मारेर डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा पुलिसले आइतबार छापा मारेको हो। ठगी गरेको आरोपमा पुलिसले छापा मारेर कल सेन्टरका सातजना सञ्चालकसहित डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ। तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीनवटा फ्ल्याट भाडामा लिइ कल सेन्टर संचालन गरिएको थियो। इलाका पुलिस कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको पुलिसले जनाएको छ। विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका पुलिस कार्यालय बुटवलका पुलिस अधिकारीले बताए। पक्राउ पर्ने युवायुवतीहरू भने कार्यालयका कर्मचारी मात्रै हुन्।










