काठमांडू: नेपाली महिला राष्ट्रिय टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित फ्रेन्च क्लब अन आभान्ट ग्वेङगाम्पले लिगमा पहिलो जित हात पारेको छ।
घरेलु मैदानमा भएको खेलमा ग्वेङगाम्पले स्ट्रासबर्गलाई ३-२ गोलअन्तरले पराजित गरेको हो। खेलमा सुरुवाती ग्वेङगाम्पले नै लिएको थियो। खेलको ५८औँ मिनेटमा नेपाली फरवार्ड साम्बाले गोल गर्दै ग्वेङगाम्पलाई सुरुवाती अग्रता दिलाइन्।
तर, खेलको ६२औँ मिनेटमा स्ट्रासबर्गका लागि अजारोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएकी थिइन्। खेलको ६५औँ मिनेटमा सापेलले गोल गर्दै स्ट्रासबर्गलाई २-१ को अग्रता दिलाएकी थिइन्। तर, खेलको ६७औँ मिनेट ग्वेङगाम्पका लागि ओलिभियरले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याइन्।
त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा पेनाउले गोल गर्दै ग्वेङगाम्पलाई ३-२ गोलअन्तरको जित दिलाएकी हुन्। लिगमा पहिलो जित निकालेको ग्वेङगाम्प ३ अंक जोड्न सफल भयो। ग्वेङगाम्प ५ खेलबाट ३ अंक जोड्दै लिगको १०औँ स्थानमा उक्लिएको छ। यसअघि ग्वेङगाम्प लगातार चार खेलमा पराजित भएको थियो।
शीर्ष स्थानमा रहेको पीएसजीको ५ खेलबाट १५ अंक छ। पराजित स्ट्रासबर्ग भने ५ खेलबाट २ अंकका साथ लिगको ११औँ स्थानमा छ।










