काठमाडौं: नेपालमा १६औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमहरूका साथमा पालन गरिरहेको छ। देशको राजधानी काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर पालन गरिएको छ। यस अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा डेढ दशकदेखि गणतन्त्र दिवस पालन गरिँदै आइरहेको छ। सन् २००५-०६ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो। तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार १० अप्रेल २००८ मा ऐतिहासिक संविधानसभाको चुनाव भयो। २८ मई २००८ मा संविधानसभाको प्रथम बैठकले २४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो। कार्यक्रमको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो। समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरे।









