नेपालको सनसनीपूर्ण जित: यूएई ३७ रनले स्तब्ध

FB_IMG_1777146048799

काठमाडौँ: आईसीसी विश्वकप लीग–२ अन्तर्गत कीर्तिपुर क्रिकेट मैदानमा शनिवारदेखि सुरु भएको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रनको मध्यम स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई ४८.२ ओभरमै १६३ रनमा समेटिएपछि नेपाल ३७ रनले विजयी भयो। यो जितसँगै नेपालले अङ्क तालिकामा १४ अङ्क जोडेको छ भने पराजित यूएई १० अङ्कमै सीमित बनेको छ।
​नेपालको ब्याटिङमा दीपेन्द्र सिंह ऐरी मुख्य नायक बने। सुरुवाती ११ ओभरमा ४९ रन जोड्दा ४ विकेट गुमाएर टोली निकै कमजोर अवस्थामा पुगेका बेला दीपेन्द्रले सम्हालिएको प्रदर्शन गरे। उनले ९० बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ७५ रनको महत्वपूर्ण योगदान दिए। ओपनर कुशल भुर्तेलले २४ रन र करण केसीले २२ रन जोड्दा आरिफ शेख र सोमपाल कामीले समान १५ रन बनाए। यूएईका लागि जुनेद सिद्धिकी र अजय कुमारले समान ३–३ विकेट लिएर नेपाली ब्याटिङ लाइनलाई दबाबमा राखेका थिए।
​२०१ रनको लक्ष्य पछ्याएको यूएई एक समय आरामदायी जिततर्फ अग्रसर देखिएको थियो। विशेष गरी कप्तान मोहम्मद वासिम र अक्षदीप नाथले पाँचौँ विकेटका लागि ५३ रनको साझेदारी गरेपछि नेपाल दबाबमा परेको थियो। तर ३३ औँ ओभरमा सोमपाल कामीले अक्षदीपलाई र ३५ औँ ओभरमा वासिमलाई सर्ट पिच बलको पासोमा पारेर आउट गरेपछि खेल एकाएक नेपालको पक्षमा फर्कियो। वासिमले ३४ र अक्षदीपले ३० रन बनाएका थिए।
​बलिङतर्फ करण केसीले घातक प्रदर्शन गर्दै एक्लैले ४ विकेट लिए। उनले ९.२ ओभरमा मात्र १९ रन खर्चेर यूएईको पारी ध्वस्त पारे। यो जित नेपालका लागि ओडीआई मान्यता जोगाउन र विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन निकै महत्वपूर्ण मानिएको छ। आईसीसीले असोसिएट राष्ट्रहरूको विकासका लागि सञ्चालन गरेको यो चारवर्षे शृङ्खलामा उत्कृष्ट ४ भित्र पर्ने टोलीहरूको एकदिवसीय मान्यता सुरक्षित रहने प्रावधान छ।

About Author

Advertisement